पेट्रोेलियम डिलर एशोसिएसनका जिल्ला प्रतिनिधिकै पम्पबाट ठगी


appharu

२८ असार २०७९, मंगलवार १७:०५ मा प्रकाशित

पालिकापत्र, रामग्राम । पश्चिमाञ्चल पेट्रोेलियम डिलर एशोसिएसनका नवलपरासी पश्चिम जिल्ला प्रतिनिनिधिको पेट्रोल पम्पबाट इन्धन विक्रिमा उपभोक्ता ठगिने गरेका पाइएको छ । पेट्रोल पम्पहरुमा कालोबजारी बढेको जनगुनासो आएपछि संयुक्त जिल्ला बजार अनुगमन समितिले सोमबार नवपरासीका पेट्रोल पम्पमा अनुगमन गर्दा रामग्राम ६ स्थित सन्तोष आयल स्टोर्समा सिलबन्दी गरिएको छ । उक्त पेट्रोल पम्प पश्चिमाञ्चल पेट्रोेलियम डिलर एशोसिएसनका नवलपरासी पश्चिम जिल्ला प्रतिनिनिधि सन्तोष अग्रवालको हो । अनुगमनका क्रममा सन्तोष आयल स्टोर्समा रहेको सि.नं. २ को पेट्रोल बितरण पम्पमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलको ५ लिटर क्षमताको स्टाण्डर्ड मेजरले चेकजाँच गर्दा प्रति ५ लिटरमा ७० एम.एल. कमी देखिएकोले पेट्रोल पम्पमा सिलबन्दी गरिएको संयुक्त बजार अनुगमन समितिका निरीक्षक अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
उक्त कार्य स्टाण्डर्ड तथा नापतौल ऐन २०२५ र नियमावली २०२७ विपरीत देखिएकोले सि.नं. २ को पेट्रोल बितरण पम्पबाट पेट्रोल बिक्री बितरण कार्य बन्द गर्न निर्देशन दिएको गुणस्तर तथा नापतौल बुटवलका निरीक्षक दिपेन्द्र रोकाहाले जानकारी दिए । अनुगमन टोलीले जिल्लाका ६ वटा पेट्रोल पम्प अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेयले बताए । पश्चिमाञ्चल पेट्रोेलियम डिलर एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले नापतौल कार्यालयले मान्यता नदिएको चाइनिज मेसिनबाट इन्धन विक्रि गरेकाले पनि समस्या आएको हुन सक्ने बताए । उक्त आयल स्टोर्सले मेसिन चेकजांचका लागि निवेदन समेत दिएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्