लुम्बिनी र राप्ती अस्पतालमा टिकट तथा जनरल बेड नि:शुल्क, लुम्बिनी अस्पतालाई मेडिकल कलेज बनाइने


appharu

१ श्रावण २०७९, आईतवार १२:२३ मा प्रकाशित

पालिकापत्र, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक अस्पताल दाडमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेडमा लाग्दै आएको शुल्क सरकारले मिनाहा गरेको छ ।
आईतबार विहान बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विरामी बेनिमाया थापालाई निशुल्क टिकट दिदै सेवा शुभारम्भ गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा जनरल बेडमा शुल्क नलिने घोषणा गरेको थियो उक्त घोषणा साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो । उक्त सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा अगाडि बढाउन लागिएको बताए । केसीले टिकट र जनरल बेड निशुल्क गर्न चालु आर्थिक वर्षको वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन गरेको बताउंदै लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रुपमा राखेर विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न लागिएको बताए । छिटै १२ सय शैयाको १० तले अस्पताल भवन निर्माणको प्रकृया शुरु हुने र अस्पतालको आयस्रोतका लागि इलाका वन कार्यालयको जग्गामा व्यवसायिक सटर र डाक्टर आवास भवन बनाउने मुख्यमन्त्री केसीले बताए ।
संविधान सभा सदस्य विनोद पहाडिले प्रादेशिक अस्पतालमा निजी क्षेत्रलाई पनि जोड्नुपर्ने बताए । संघियतापछि निजी क्षेत्र अस्पतालसंग नजोडिएको भन्दै निजी क्षेत्रलाई जोड्न सके अस्पतालको पुर्वाधार विकास र सेवा सञ्चालनमा सहज हुने उनको भनाई छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नरेन्द्र रानाले नि:शुल्क सेवा संगै गुणस्तरमा ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिए । अस्पतालबाट जनशक्तिको माग भइरहेको प्रसंगमा उनले कामको विश्लेषण गरेर जनशक्ति थप गर्ने बताए । अहिले भइरहेकै जनशक्तिको परिचालन राम्रो संग नभएको भन्दै उनले असन्तुष्टी जनाए ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले अस्पतालमा एमबीबीएसको पढाई शुरु गरी संस्थालाई एकेडेमिक रुपमा अगाडि बढाउने सरकारको तयारी रहेको बताए । एमबीबीएसको पढाई शुरु गर्न सके चिकित्सकको दरबन्दी थप्नुपर्ने समस्या हट्ने र सरकारलाई आर्थिक भार कम हुने उनले औंल्याए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले अस्पतालले सेवा विस्तार र गुणस्तरमा सुधार गरेका कारण विरामीको चाप निरन्तर बढ्दै गएको बताए । अस्पतालमा मासिक ३० हजार विरामीले उपचार सेवा लिने गरेको उनले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबारबाटै नि:शुल्क रगत सेवा पनि शुरु भएको छ । नि:शुल्क रगतका लागि सरकारी अस्पतालहरुले रक्त सञ्चार सेवा केन्द्रसंग सम्झौता गर्नुपर्छ । लुम्बिनीमा पहिलोपटक लुम्बिनी प्रादेशिक अस्पतालले सम्झौता गरेर कार्यान्वयनमा ल्याएको मेडिकल सुपरिटेण्डेण्ट डा. ढकालले बताए । प्रदेशका सबै सरकारी अस्पतालमा निशुल्क रगत उपलब्ध गराउन सरकारले ३ करोड वजेट विनियोजन गरको छ ।

प्रतिक्रिया दिनुहोस्