तिलोत्तमामा समितिहरुमा भागवण्डापछि पारित भयो वजेट


appharu

३ श्रावण २०७९, मंगलवार १६:०८ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपाकिलाको नगरसभाले आर्थिक वर्ष ०७९/८० को बजेट सर्वसम्मतले पारित गरेको छ । मंगलबार सम्पन्न भएको १२ औं नगरसभाको पाँचौ बैठकले आर्थिक वर्ष ०७९/८० को बार्षिक बजेट, आर्थिक विधेयक एंव बिनियोजन विधेयक सर्वसम्मतीले पारित गरेको हो । तिलोत्तमाले १ अर्ब ९८ करोड बराबरको बजेट ल्याएको हो ।
१२ औ अधिवेशनको पांचौं बैठकबाट बजेट पारितसँगै बिभिन्न ४ वटा समिती गठन गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोश्रो संशोधन) न्यायिक समिति, लेखा समिति र विधायन समिति गठन गरेको छ । यसअघि एमालेका जनप्रतिनिधिहरुले समिति गठनका बिषयलाई लिएर नगरसभामा सहमती जनाएका थिए । एमालेका जनप्रतिनिधिहरुले विरोध जनाएपछि नगरप्रमुख रामकृष्ण खाँणले २ पटकसम्म गणपुर संख्या नपुगेको भन्दै सभा स्थगित गरेका थिए ।
सभा स्थगित भएपछि प्रमुख प्रशासकीय जीवन ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गर्दै एमालेका जनप्रतिनिधि विरोधमा उत्रेका थिए । आईतबार नगरसभा स्थगित भएपछि नाराबाजीका क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि ठगबहादुर केसीले वडाअध्यक्षलाई धकेलेर स्विमिङ पुलमा खसालेका थिए । त्यसपछि स्थिती थप तनावग्रस्त बनेको थियो । विरोधमा रहेका एमाले जनप्रतिनिधि र काँग्रेसका जनप्रतिनिधिविच नगरसभाले गठन गर्ने बिषयगत समितिमा भागबन्डामा कुरा मिलेपछि नगरसभा शुरु गरिएको हो । नगरसभाले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्त बहादुर बस्नेत सदस्य रहने गरि न्यायिक समिति गठन गरेको छ । संयोजक र एक सदस्य एमालेले पाएको छ भने बस्नेत काँग्रेसका तर्फबाट सदस्य बनेका हुन ।
यस्तै लेखा समिति एमालेबाट निर्नाचित फर्सुराम गिरीको संयोजकत्वमा उमेन्द्र बस्याल –एमाले) र पूर्ण प्रसाद आचार्य (माओवादी केन्द्र) सदस्य रहेको समिति गठन गरेको छ । त्यसैगरि काँगेसबाट निर्वाचित वडा न. १३ का अध्यक्ष नारायण प्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति गठन गरिएको छ ।
त्यसैगरि काँग्रेसबाट निर्वाचित वडा न. ५ का अध्यक्ष रमेश डुम्रेको संयोजकत्वमा चूर्णा कुमारी विष्ट भण्डारी(काँग्रेस) र क्षितिजा पौडेल –एमाले) रहेको सुशासन समिति गठन गरिएको छ । बजेट तथा समतिका नामहरु उपप्रमुख जागेश्वरीदेवी चौधरीले प्रस्ताव गरेकी थिईन ।

नगरप्रमुख रमकृष्ण खाँणले सर्वसम्मत रुपमा नगरसभाले बजेट र समितिहरु गठन गरेकोमा नगरसभाका सदस्यहरुलाई धन्यवाद दिदै नगरसभा बैठक समापन भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्