राष्ट्रिय जनमुक्ति पार्टीको विस्तारित बैठक रुपन्देहीमा शुरु


appharu

५ श्रावण २०७९, बिहीबार १८:२९ मा प्रकाशित

पालिकापत्र, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीको विस्तारित बैठक बिहीबारदेखि रुपन्देहीमा सुरु भएको छ । ३ दिनसम्म चल्ने बैठक रुपन्देहीको तिलोत्तमामा रहेको पार्टी कार्यालयमा सुरु भएको हो ।

पार्टीको आगामी कार्यदिशा र कार्यनीतिमा छलफल गर्नको लागि विस्तारित बैठक राखिएको सो पार्टीले जानकारी दिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सुर्यबशीले अब पार्टीले लिने कार्यदिशा र कार्यनीतिका विषयमा बैठकमा ब्यापक छलफल हुने जानकारी दिए ।

उनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विषय पनि विस्तारित बैठकको मुख्य एजेण्डा रहेको बताए । अबको निर्वाचनमा कसरी जाने र बैकल्पिक शक्तिको रुपमा उदाउने रणनीतिका विषयमा बैठकमा छलफल हुने जानकारी दिए । बिस्तारित बैठकबाटै नै अबको निर्वाचनको रणनीति तय हुने सुर्यबशीले बताए ।

अहिले देश राष्ट्रिय संकटमा रहेको र बैठक लगत्तै भण्डाफोर कार्यक्रम सञ्चालनका विषयमा छलफल हुने उहाँले बताए ।
पार्टीका विधानमा रहेको त्रुटी सच्चाउनको लागि पनि बैठक राखिएको राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपि पालुङ्गवाको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकको पहिलो दिन केन्द्रीय सदस्य, पदाधिकारीहरुले मन्तब्य राखेका छन । शुक्रबार र शनिबार पार्टीको विधान संसोधन र अगामी निर्वाचनका विषयमा छलफल हुने कार्यतालिका रहेको छ । बैठक साउन ७ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस्