अर्घाखाँची । भूमिकास्थान नगरपालिका–८ लात्तेबाँजमा स्थानीय र पाल्पाबाट मजदुरीका लागि आएका मजदुरबीच भएको झडपको घटनामा वडाध्यक्ष राजकुमार श्रेष्ठ पक्राउ परेका छन्।
भदौ २३ गते राति करिब ९ बजे स्थानीय र मजदुरबीच विवाद भएपछि कुटाकुट भएको थियो। उक्त घटनामा १३ जना घाइते भएका थिए। घाइतेमध्ये ९ जनाको लुम्बिनी प्रादेशिक अस्पताल, दुई जनाको सन्धिखर्कस्थित छाँया अस्पताल प्रा.लि. र दुई जनाको अर्घाखाँची अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ। उपचारपछि सबै घाइते अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
प्रहरीका अनुसार घटनाभन्दा दुई दिनअघि मात्रै पाल्पाबाट मजदुरीका लागि लात्तेबाँज पुगेका मजदुर र स्थानीयबीच विवाद चर्किएपछि सन्धिखर्कमा रहेका भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठलाई स्थानीयले घटनास्थलमा बोलाएका थिए।
झगडा साम्य पार्न घटनास्थल पुगेको दाबी गरेका श्रेष्ठलाई भने प्रहरीले घटनाको आठ दिनपछि नियन्त्रणमा लिएको हो। मंगलबार साँझ सन्धिखर्कस्थित आफ्नै घरबाट प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार घटनामा घाइते दिलबहादुर रास्कोटीले बुटवलस्थित प्रहरी कार्यालयमा जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जाहेरीमा श्रेष्ठसहित सात जना स्थानीयले मजदुरमाथि आक्रमण गरेको आरोप लगाइएको छ। सोही जाहेरीका आधारमा श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जिसीले बताए।
श्रेष्ठमाथि अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। जाहेरीमा नाम उल्लेख भएका श्रेष्ठबाहेक अन्य व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।
घटनामा संलग्न भनिएका पक्ष तथा घाइतेलाई समेत प्रहरी कार्यालयमा बोलाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटना भएको आठ दिनपछि वडाध्यक्ष पक्राउ परेपछि लात्तेबाँजको झडप पुनः चर्चामा आएको छ। घटनामा वडाध्यक्षको वास्तविक भूमिका के थियो, उनी झगडा साम्य पार्न पुगेका थिए वा आक्रमणमा संलग्न थिए भन्ने विषय भने प्रहरी अनुसन्धानबाट खुल्नेछ।

