कालिका मानवज्ञानका स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान


appharu

६ श्रावण २०७९, शुक्रबार १८:४५ मा प्रकाशित

पालिकापत्र, बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलले १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने दुई विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयले शुक्रबार आयोजना गरेको अभिभावक भेला कार्यक्रममा कबड्डी खेलमा स्वर्ण पदक प्राप्त गर्ने दिपेश यादब र राहुल अर्याललाई सम्मान गरेको हो ।
असार २८, २९ र ३० गतेसम्म काठमाण्डौंको त्रिपुरेश्वरमा आयोजना गरिएको प्रतियोगितामा यादब र अर्यालले कबड्डी खेलमा स्वर्ण पदक प्राप्त गरेका हुन ।

विद्यार्थी र अभिभावकलाई सँगै सम्मान गरीएको हो । यादब कक्षा ११ र अर्याल कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन । दुई खेलाडीलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी र प्रधानाध्यापक दिनेश थापाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन ।

विद्यालयको सम्मानबाट आफुहरुलाई हौसला प्रदान भएको भन्दै दुबै खेलाडीले पढाईसँगै खेल क्षेत्रलाई पनि निरन्तरता दिने बताए ।

अध्यक्ष गलामीले कालिका मानवज्ञान माविले विद्यार्थीको पढाईसँगै खेल क्षेत्रमा समेत अब्बल रहेको बताउँदै खेल क्षेत्रमा विद्यार्थीलाई अब्बल गराउनको लागि खेल शिक्षकको नै ब्यवस्था गरिएको बताए ।

प्रधानाध्यापक थापाले स्वर्ण पदक विजेता खेलाडीको हौंसला प्रदान गर्नको लागि सम्मान गरिएको बताए ।
खेल क्षेत्रलाई विशेष महत्वको साथ विद्यालयले अघि बढाएको उनले बताउँदै नगर , जिल्ला , प्रदेश र राष्ट्रिय प्रतियोगितामा भाग लिदै आएको बताए ।

विद्यार्थीमा भएको क्षमतालाई पहिचान गर्ने वातावरण विद्यालयले सृजना गरिनु पर्ने प्रधानाध्यापक थापाले बताउँदै कालिका मानवज्ञान माविले विद्यार्थीको क्षमताको पहिचान गर्दै विद्यार्थीलाई प्रशिक्षण प्रदानबाट नै सफलता हात पार्दै आएको बताए । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष ईन्द्रमणी अर्यालले विद्यालयले खेल क्षेत्रमा लाग्ने विद्यार्थीलाई हौंसला र प्रशिक्षण प्रदान गर्नु पर्ने बताए ।
विद्यालयका खेल शिक्षक हरिस वलीले कालिका मानवज्ञान माविले नगरस्तरियदेखि राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिँदै पदक जित्दै आएको बताए ।
नगर , जिल्ला , प्रदेश र संघको खेलमा स्वर्ण पदक बिजेता विद्यार्थीलाई पढाईसँगै नि:शुल्क होस्टलको ब्यवस्था गरिएको विद्यालयले जनाएको छ । विद्यालयले यस अघि नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०७६ मा १० स्वर्ण, ७ रजत र ७ कास्य , २०७७ मा १२ स्वर्ण , ५ रजत र ४ कास्य र २०७८ मा ९ स्वर्ण , १२ रजत पदक प्राप्त गरेको थियो । यस्तै विद्यालयले १२ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा ६ स्वर्ण , ७ रजत पदक प्राप्त गर्दै बुटवल उपमहानगरपालिका नै प्रथम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्