सियारीको कोटहीथानमा आधुनिक पशु हाटबजार र किसान भवन सञ्चालन


appharu

८ श्रावण २०७९, आईतवार १८:२७ मा प्रकाशित

पालिकापत्र, सियारी । रुपन्देहीको सियारी गाउंपालिकामा आधुनिक र व्यवस्थित पशु हाट बजार तथा किसान भवन सञ्चालनमा आएको छ । नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना अन्तर्गत विश्व बैंकको साढे ५ करोड रुपैयां ऋण सहयोगमा सियारी गाउंपालिका–२ कोटहीथानमा व्यवस्थित पशु हाटबजार सञ्चालनमा आएको हो । पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुविधा दिने गरी बनेको यो लुम्बिनी प्रदेशमा दोस्रो व्यवस्थित पशु हाटबजार हो । तीन बिघा क्षेत्रफलमा बनेको पशु हाट बजारमा भैंसी,गाई, बाख्रा लगायतका पशुको किनबेच हुनेछ । यसअघि बर्दियामा पनि विश्व बैंकको ऋण सहयोगमा पशु हाटबजार सञ्चालनमा छ । पशु बेच्न टाढाबाट आएका किसानलाई बास बस्न, रगत, गोबर चेकजांच गर्ने प्रयोगशाला तथा डिस्पेन्सरी,बजार व्यवस्थापक र सञ्चालक समिति कक्षका लागि २ तले किसान भवन बनाइएको छ । यस्तै क्यान्टिन, शौचालय, पशुलाई राख्न होल्डिङ यार्ड (टहरो) लगायतका संरचनाहरु बनेका छन् ।
हाट बजारमा किसानले विभिन्न स्थानबाट ल्याएका पशुको पशु चिकित्सकबाट स्वास्थ्य चेकजांच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र विक्रि गर्न पाइने छ । विक्रियोग्य पशुको रमानापत्रका लागि हाललाई तीन सय रुपैयां शुल्क तोकिएको सियारी गाउंपालिकाका पशु चिकित्सक डा. सुवास बेल्बासेले बताए । शंका लागेका पशुको रगत र गोबर परीक्षण गरी रोगी देखिएमा विक्रि गर्न नपाइने बेल्बासेले बताए । पशु हाटबजार सञ्चालनका लागि १० जना कर्मचारी,कार्यपालिका सदस्यको संयोजकत्वमा ३९ सदस्यीय मूल सञ्चालक समिति र ५ सदस्यीय कार्य सम्पादन समिति बनाइएको पशु सेवा शाखा प्रमुख गणेशप्रसाद बेल्बासेले बताए ।
पशु हाटबजारको आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन् । हाटबजार उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै किसानका उत्पादनको बजारिकरणमा सहयोग गर्ने बताए । पशु हाट बजारका गतिविधिलाई अनलाइन प्रणालीमा लगेर किसानलाई थप सहज बनाउन मुख्यमन्त्री केसीले सुझाव दिए । भविष्यमा पशुु हाटबजारलाई १२ वटै जिल्लाका १०९ पालिकामा विस्तार गरी पशुपालनमा पूर्णरुपमा आत्मनिर्भर बनाइने बताए । खेतीयोग्य जग्गालाई प्लटिङ गरेर कंक्रिटको शहर बनाउने काम गाउंपालिकाहरुले रोक्नुपर्ने मुख्यमन्त्रीले सुझाव दिए ।
गाउपालिका अध्यक्ष थानेशवर घिमिरेले राजनीतिक व्यवस्था परिर्वन भएपनि किसानहरु सधै समस्यामा पर्ने गरेको उल्लेख गर्दै तीनै तहका सरकारले किसानलाई राहत दिन नयां कार्यक्रम ल्याउनुपर्ने बताए । संघीय सरकारको नश्ल सुधारको करोडौं वजेट बालुवामा पानी सरह भएको भन्दै अध्यक्ष घिमिरेले वास्तविक किसान लाभान्वित हुने गरी नश्ल सुधार कार्यक्रम ल्याउन माग गरे । नेपालमा गाई भैसी आयात भारतबाट गर्नुपर्ने भएकाले प्रहरी प्रशासनले सीमा नाकामा सहज गरिदिनुपर्ने माग समेत उनले गरे । कार्यक्रममा प्रदेश सरकारका कृषि मन्त्री सुमन शर्मा रायमाझी,शिक्षामन्त्री वसिउद्दिन खान,प्रदेश सभा सदस्य तुल्सीप्रसाद चौधरी,पुष्पा थरुनी लगायतले पशु हाटबजारले पशु पालक किसान र व्यवसायी दुबै लाभान्वित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्