बुटवलका प्रमुख प्रशासकीय अधिकृत पन्थीद्वारा पदभार ग्रहण

सरोकारवाला सबैसंग सहकार्य गर्दै बुटवललाई सुशासनयुक्त, पारदर्शी र सेवाग्राहीमैत्री उपमहानगरको रुपमा पहिचान दिलाउने प्रतिवद्धता


appharu

१५ श्रावण २०७९, आईतवार १०:५६ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका टेकराज पन्थीले आइतबार पदभार ग्रहण गरेका छन् । यसअघि बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका पन्थी नेपाल सरकारका उपसचिव हुन् ।

पन्थी सहित ३४ जना उपसचिवको संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले सरुवा गर्दा उनले बुटवल उपमहानगरको जिम्मेवारी पाएका हुन् । बाणगंगा भन्दा अघि पन्थी सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसअघि पन्थीले देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेका छन् ।

सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा प्रशंसा कमाएर उनले आफ्नो बेग्लै छवि बनाएका छन् । प्रमुख प्रशासकीय अधिकृतहरु एउटा पालिकामा अधिकतम २ वर्षसम्म काम गर्न पाउने व्यवस्था छ ।

पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधिसहित सरोकारवाला सबैसंग सहकार्य गर्दै बुटवललाई सुशासनयुक्त, पारदर्शी र सेवाग्राहीमैत्री उपमहानगरको रुपमा पहिचान दिलाउने बताए । उनले नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।

नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले पन्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन निर्देशन दिए ।
‘हामी जनप्रतिनिधिहरु पाँच वर्षमा आउने जाने हुन्छ, कर्मचारी संयन्त्र स्थायी सरकार हो, उनले भने–जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको भूमिका रहन्छ, त्यसैले स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ ।’
उनले बुटवलको विकासका लागि जनप्रतिनिधिका योजनामा साथ दिएर अघि बढेमा मात्रै प्रभावकारी काम हुने बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।
उपमहानगरका अधिकृत विष्णु प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन बुटवल इकाईका अध्यक्ष अनिलकुमार माण्डव्यलगायतले स्वागत गरेका थिए । पन्थी बुटवल लक्ष्मीनगर निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्