निजी क्षेत्र र स्थानीय सरकारवीच सहकार्यमा जोड


appharu

१८ श्रावण २०७९, बुधबार १४:४० मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिकामा आउनु भएका नयाँ प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा स्वागत गरेको छ ।
सो अवसरमा संघको धारणासहित स्वागत गर्दै अध्यक्ष माधव प्रसाद पौडेलले बुटवल सहित यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रवीचको सहकार्यलाई प्राथमिकतामा राखेर उद्योगीहरुको समस्यालाई गम्भिरतापूर्वक लिएर सम्बोधन गर्ने अवसर सिर्जना गर्न आग्रह गर्नु भयो ।
अध्यक्ष पौडेलले रुपन्देही उद्योग संघले नेपाल मै उद्योग र औद्योगिक विकास विना राष्ट्र समृद्ध बन्न सक्दैन भन्ने अभियानको नेतृत्व गर्दै आएको उल्लेख गर्दै स्थानीय सरकारले आर्थिक नीतिहरु तय गर्दा उद्योग मैत्री बनाउने र विकासका काममा सहकार्यको वातावरण निर्माण गर्न ध्यान दिनुपर्ने सुझाव राख्नु भएको थियो ।
उहाँले सो अवसरमा संघले आगामी पुष महिनामा आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना स्थल बुटवल मण्डपको निर्माणको काममा देखिएको ढिलाई प्रति ध्यानाकर्षण गराउँदै बाँकी काम पुरा गराउन बुटवल उपमहानगरपालिकाले सहजिकरण गरिदिन आग्रह गर्नु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको विकासका लागि आफुले इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाउँदै त्यसका लागि सबै तह र तप्काका व्यक्ति, संघसंस्था तथा राजनीतिक दलहरुको सहकार्य जरुरी भएको बताउनु भयो । उहाँले बुटवलको विकासमा उद्योगी व्यवसायीहरुको भूमिका र योगदानलाई कसैले नजरअन्दाज गर्न नसक्ने उल्लेख गर्दै आफुले दिने सेवालाई प्रभावकारी एवं सरल बनाउने बताउनु भयो ।
पन्थीले सो अवसरमा बुटवलको विकासमा बाधकका रुपमा देखिएका समस्याका विषयमा दवावमुलक अभियान थाल्न आग्रह गर्दै जनप्रतिनिधिलाई सफल असफल बनाउने हात कर्मचारीहरुको रहेको हँुदा त्यसमा सकारात्मक रुपमा काम गर्ने जनाउनु भयो ।
उहाँले बुटवलको मुख्य राजमार्गको विषयले हामी सबैलाई गिज्याएको भन्दै त्यसमा राजनीति नगरेर ठेकेदारको लापरवाहिले भएको ढिलाईलाई दवाव दिएर काम अगाडी बढाउने काममा आफु लाग्ने बताउनु भयो । पन्थीले सो सडक संघको आयोजना भएका कारण नगरपालिकाले एक रुपैया खर्च गर्न नसक्ने कुरा उल्लेख गर्दै हिजो भएका गल्तीबाट शिक्षा लिएर सहकार्य, सहमति र सकारात्मक सोंचकासाथ सबैले काम गर्न अनुरोध गर्नु भएको थियो ।
संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले रुपन्देही उद्योग संघले आफ्नो स्थापनाको उद्देश्य र लक्ष्य प्राप्तीका लागि निभाएको भुमिकालाई राज्यले आत्मसाथ गर्दै यस क्षेत्रको औद्योगिक विकासका लागि स्थानीय सरकारहरुले सहकार्यको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न जोड दिनुभयो । उहाँले स्थानीय सरकारसँग ठोक्किने उद्योगीहरुका समस्यालाई सहजिकरण गर्ने काममा कार्यकारी प्रमुखको भूमिका अहम रहने हुँदा त्यसमा ध्यान दिन आग्रह गर्नु भयो ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष जीवकान्त काफ्ले पदाधिकारी, सल्लाहकार एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्