बुटवलको सडक छिटो नबने अनसन बस्छु : मेयर खेलराज


appharu

२० श्रावण २०७९, शुक्रबार १८:१२ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिकाभित्रका प्रमुख खेलराज पाण्डेयले बुटवलको मुख्य राजमार्गको सडक बेलैमा नबने आफू सडकमै अनसन बस्ने बताउनुभएको छ ।

आफू अनसन बसे सरोकारवाला सरकारी निकायका हाकिमहरुलाई अप्ठेरो पर्ने उहाले बताउनुभयो ।

बुटवल नगरभित्रको विकास निर्माणको काममा समन्वय नभएका कारण विकासका काममा अलमल देखिएपछि बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको कार्यालय प्रमुखहरुको छलफल तथा परिचयात्मक कार्यक्रममा पाण्डेले यस्तो बताउनुभएको हो ।

बुटवलको मूख्य सडक विस्तार तथा मर्मतका लागि गम्भीर रुपमा चासो दिन आयोजना कार्यालय र निर्माण कम्पनीलाई उहाँले आग्रह गर्नुभयो ।
उहाँले जनताको दैनिक जीवनमा प्रभाव पार्ने खानेपानी, विद्युत, दुरसञ्चार, सडक डिभिजन र आयोजना कार्यालयहरुबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आमजनताको सेवाका लागि खटिने सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नुभयो । उहाँले जनताको दैनिकीसँग सरोकार राख्ने र अत्यावश्यक सेवा प्रवाहका काममा गम्भीरतापूर्वक काम गर्न कार्यालय प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रका हरेक कार्यमा उपमहानगरपालिकासँग समन्वय र सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले सरकारका लक्ष्य, उदेश्य र योजनाहरु कार्यान्वयनमा लैजाँदै सेवा प्रवाहलाई चुस्त बनाउनका लागि सरकारी कार्यालयबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी, दुरसञ्चार कार्यालय बुटवलका प्रमुख नेत्रनारायण खनाल, बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झा, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगन्द्र सिंह थापा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, जनताको तटबन्ध कार्यालय फिल्ड कार्यालय बुटवलका इश्वरी प्रसाद तिवारी, मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, हेभी इक्युपमेन्ट डिभिजन कार्यालय बुटवलका मेकानिकल इन्जिनियर नविन घिमिरे लगायतले बोल्दै बुटवलभित्रका विकास निर्माणका काममा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

बुटवलभित्रका काममा भएको ढिलासुस्तीका कारण जनताको दैनिकीमा समेत असर गरेकाले सरकारी कार्यालयहरुबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन कार्यालय प्रमुखहरुबीच छलफल कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्