बाणगंगा नदीमा नदीजन्य पदार्थ चोर्ने गिरोह सक्रिय


पालिका पत्र

२३ श्रावण २०७९, सोमबार १९:५९ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्न थालेको छ । हरेक बर्ष यहीँ समयमा बाणगंगा नदीको दोहन गर्ने गिरोह यो बर्ष पनि सक्रिय बनेको हो ।

बर्खा लागेपछि नदीजन्य पदार्थको ठेक्का लाग्दैन् । बर्खाको तीन महिना असार, साउन, भदौ र असोज, कार्तिकमा सबैभन्दा बढी बाणगंगाको दोहन हुने गरेको छ ।

साउन सकिन नपाउँदै बाणगंगामा चोरको गिरोह सक्रिय हुन लागेको बाणगंगाबासीले बताएका छन् ।

बुधबार रातभर मधुवनधामको सिरानामा रहेको नाकामा रातभर नदीजन्य पदार्थको चोरीनिकासी भएको स्थानीयले बताएका छन् ।

झण्डै एक दर्जन ट्याक्टरको प्रयोग गरेर यो काम भएको भन्दै प्रत्यक्षदर्शी बाणगंगा नगरपालिकामा खबर गर्न आएका थिए ।

मधुवनधाम क्षेत्रबाट बाणगंगा नदीको दोहन हुन थालेको प्रत्यक्षदर्शी चर्तुभूज पाण्डेले जानकारी दिए । बाणगंगाका नगर प्रमुख चक्रपाणी अर्याललाई भेटेर पाण्डेले यो विषयमा जानकारी गराएका हुन् ।

‘मधुवनधाममा बुधबार रातभर नदीजन्य पदार्थको चोरी भएको देख्यौं । प्रहरी प्रशासनलाई खबर गरेपनि चोरी रोकिएन्, नगर प्रमुख अर्यालसंगको भेटमा पाण्डेले भने, ‘बाणगंगा नगरले यो विषयमा एक्सन चालोस् ।’

पाण्डेले आक्रोशित हुँदै भने, ‘बाणगंगामा नदीजन्य पदार्थको चोरी गर्ने तीन ठूला दल कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ता नै हुन् । यी तीन दल यसमा गम्भीर भए चोरी नियन्त्रण हुन सक्ला नत्र सम्भव छैन् ।’

बाणगंगामा बर्षेनी नदीजन्य पदार्थको चोरी निकासीमा सेटिङ मार्फत चलखेल हुने गरेको आरोप लाग्दै आएको छ । इलाका प्रहरी कार्यालय पिपरा मातहतमा पर्ने यो नदीमा प्रहरी, व्यवसायी र गाउँलेको मिलेमतोको आरोप लाग्दै आएको छ ।

कतिपयले चोरी गरेको प्रमाण फेला पारे पनि सम्बन्धित निकायलाई खबर गर्दासम्म वेवास्था हुने गरेको छ ।

‘प्रहरीलाई नदीजन्य पदार्थ चोरी भएको खबर गर्छौ तर गम्भीरतापूर्वक चासो देखाउँदैन्, यसो गर्नुको कारण सेटिङको खेल हो, एक जना बाणगंगाबासीले भने ।

यता भर्खरै इलाका प्रहरी कार्यालय पिपरामा आएका प्रहरी निरिक्षक दिपकबाबु केसीले यस विषयमा बुझ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्