संघीयताको दुस्प्रचार र यथार्थताबारे अन्तरक्रिया


appharu

२४ श्रावण २०७९, मंगलवार १६:५५ मा प्रकाशित

पालिकापत्र,बुटवल । आन्दोलनको बलबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउन संघीयताबारे भ्रामक दुस्प्रचार गरिएको सरोकारवालाले बताएका छन् ।
संघीयताले राज्य शक्तिको स्रोत संघ, प्रदेश र स्थानीय तहसम्म बांडफांड गरेकाले संघीयताको कार्यान्वयनमा तीनै तहका सरकार इमान्दार बन्नुपर्ने उनीहरुको भनाई छ ।
२८ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा संघीयताबारे बुटवलमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले आन्दोलनको बलबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउन संघीयताबारे भ्रामक दुस्प्रचार गरिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नियोजित रुपमा संघीयतालाई कमजोर बनाउने प्रयास भएको भन्दै सबैले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य पंकज राईले निर्वाचन प्रणाली खर्चिलो भएकाले संघीयता खर्चिलो भयो भन्ने प्रचार गरिएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएमा संघीयता महंगो भन्ने भ्रम गलत सावित हुने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका नेतृ सरिता श्रीसले संघीयता, राज्य शक्तिको बांडफांड गरेर तल सम्म अधिकार दिने प्रणाली भएकाले यो खराब छ भन्ने दुस्प्रचार गलत भएको बताउनुभयो ।
संघीयताले समाजिक एकता र राष्ट्रियता कमजो रबनाउने नभई बलियो बनाउने उहांको भनाई छ ।
नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकाको सहयोगमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता काजीमान श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष शंकर गाहा,सचिव चित्रलाल तुलाचन लगायतले बोल्दै संघीयताले आदिवासी जनजाति,पिछडिएका वर्ग समुदायलाई अधिकार दिएकाले भ्रममा पर्न नहुने बताएका थिए ।
विश्व आदिवासी दिवसको अवसरमा महासंघले भूपि स्मृति पुस्तकालय र डम्बर तमु स्मृति अध्ययन केन्द्रलाई पुस्तकहरु हस्तान्तरण र आदिवासी जनजातिका विष्यमा कविता प्रतियोगिता गरेको थियो छ । हरेक वर्ष अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्