मायादेवी साझेदारी वनको घाटगद्धी व्यवस्थापनमा लाखौंको भष्ट्राचार

‘अधिकांश समय कार्यालय प्रमुख केसी कार्यालयमा हुँदैनन्, काम विशेषले सम्पर्क गर्न खोज्यो फोन उठ्दैन् ।’


appharu

२६ श्रावण २०७९, बिहीबार १४:०० मा प्रकाशित

मायोदवी साझेदारी वनले २५ लाखमा बनाएको घाटगद्धी । तस्बीरः पालिकापत्र

पालिकापत्र, बाणगंगा ।
कपिलवस्तुको मायादेवी साझेदारी वनमा लाखौं रकमको भ्रष्ट्राचार भएको छ । वन कर्मचारी र साझेदारी वन व्यवस्थापन समितिको मिलेमतोमा नितिगत कागज मिलाई सेटिङ मार्फत लाखौं रकम झ्वाम पारिएको हो ।

घाटगद्धी व्यवस्थापनका लागि गत आव ०७८/०७९ का लागि मायादेवी साझेदारी वनले २५ लाख रकम विनियोजन गरेको थियो । उक्त काम कागजी रुपमा सम्पन्न गरेको देखाएर वन कर्मचारी र समितिले लाखौं रकम स्वाम पारेको खुलेको हो ।

बाणगंगा नगरपालिका वडा नं. २ पिपरास्थित पिपरा सव डिभिजन कार्यालय परिसरमा साझेदारीले घाटगद्धी व्यवस्थापनका लागि काम गरेको छ ।

साझेदारीद्धारा उत्पादित काठ दाउरा जमीनमा राख्दा सडेर नष्ट भएकाले घाटगद्धीलाई व्यवस्थित बनाउनका लागि उक्त रकम विनियोजन गरिएकोे थियो। तर उक्त रकम खर्च नगरी साझेदारीले काम सम्पन्न गराएर रकमको चलखेल गरेको स्रोतको दावी छ ।

साझेदारीका कर्मचारीले भने घाटगद्धीमा छुट्याइएको रकम खर्च भएको बताउँछन् । पिपरा सव डिभिजन वन कार्यालयका रेन्जर रमाकान्त शर्माले दावीका साथ काम सम्पन्न भएको तर्क गर्छन् । घाटगद्धी व्यवस्थापनको जिम्मेवारी समेत पाएका शर्माले काममा कुनै अनियमितता नगरेको ठोकुवा गरे । तर उनले जसरी ठोकुवा गरे सोही अनुसारको कागजात उपलब्ध गराउँन ठाडै इन्कार गरे ।

आफूले गरेको कामको कागजात उपलब्ध गराउन नसक्नुले पनि शर्माले सेटिङ गरेको थप पुष्टि हुन्छ ।

शर्माले घाटगद्धी व्यवस्थापनको काम साझेदारी वन समितिबाट भएको तर्क गर्छन् ।

‘यो काम कसरी सम्पन्न भयो सबै कागजात साझेदारी वनमा छ, उतै माग्नुस, शर्माले जवाफ दिए ।

आफूले तत्काल मिडियालाई कुनै प्रमाण दिन नसक्ने उनले हतार मुद्रामा बताए । यी सवै विषयको जानकारी जिल्ला वन कार्यालय र साझेदारी वन व्यवस्थापन समितिमा लिन उनले आग्रह गरे ।

शर्माले बताएअनुसार साझेदारी वन कार्यालय समक्ष थप कागजात माग्दा समितिबाट कुनै काम नभएको साझेदारीका अध्यक्ष अजिज खाँले बताए ।

‘घाटगद्धीको काम वन कर्मचारीबाटै भएको हो, हामीसंग के को कागजात हुनु ?’ अध्यक्ष खाँले प्रतिक्रिया दिए ।

सव डिभिजन वन कार्यालय पिपरा र साझेदारी वन समितिले कुनै प्रमाण नदिए पछि डिभिजन वन कार्यालय तौलिहवाका सूचना अधिकृत मदनमोहन सान्डिल्यसंग कुरा राख्दा यो काम पिपराबाटै भएको प्रतिक्रिया दिए । ‘घाटगद्धीको काम पिपराबाट भएको हो उतै माग्नुस् न कागजात !’ सान्डिल्यले भने ।

पालित्रपत्रले पटक पटक यो विषयमा प्रमाण उपलब्ध गराउन भने पनि सोझै इन्कार गरेका वन कर्मचारी र वन व्यवस्थापन समितिले घाटगद्धी व्यवस्थापनमा ठूलै घोटला गरेको रहस्योद्घाटन भएको छ ।

घाटगद्धी व्यवस्थापनमा ठूलो खर्च ढुङ्गामा भएको देखाइएको छ । तर उक्त ढुङ्गा बाणगंगा नदीबाट निशूल्क रुपमा उठाइएको स्रोतले पुष्टि गरेको छ । डिभिजन वन कार्यालय तौलिहवाबाट घाटगद्धी व्यवस्थापन गर्ने भनि औचापरिक पत्र लेखेपछि बाणगंगाको प्रहरी प्रशासनले मायादेवी साझेदारी वनलाई निःशूल्क ढुंगा उठाउन अनूमति दिएको थियो । ढुवानी खर्च मात्र दिएर उठाएको निशूल्क ढुंगालाई किनेको भनि वन कर्मचारीले कागजात मिलाएको स्रोतको दावी छ ।

कागजात मिलाउने क्रममा वन कर्मचारीले तीन फर्मलाई कोटेशन हाल्न भनेर सेटिङ मिलाएका छन् । कागजी रुपमा मिलाए पनि घुमाउरो रुपमा लाखौं भ्रष्ट्राचार गरेको पुष्टि हुन आउँछ । २५ लाखको योजना सम्पन्न गराउन कुनै टेण्डर आह्वान नगर्नु नितिगत भ्रष्ट्राचार भएको जानकारहरु बताउँछन् ।

वन कर्मचारी भने वन नियमावलीमा १ करोडसम्मका काम वन समितिबाट गराउन मिल्छ भन्दै उम्कने गरेका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्राले ढुंगा, गिट्टी, बालुवाको निकासी, पैठारी जिल्ला समन्वय समितिबाट हुने बताउँछन् । जिससको समन्वय बीना काम गर्न मिल्दैन्, के कसरी यो काम भएको हो सम्बन्धित कार्यालयसंग बुझ्ने बताए ।

सव डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख विजयराज सुवेदीले घाटगद्धी व्यवस्थापनका विषयमा सत्यतत्य समाचार बाहिर ल्याउन आग्रह गरे ।

‘कार्यालयले गर्ने काम नितिगत रुपमै हुन्छ, अनियमितता भए खबरदारी गर्नै पर्छ,’ उनले भने ।

पिपरा वनका हाकिम सम्पर्कमा आउनै चाहेनन्

घाटगद्धी व्यवस्थापनका विषयमा डिभिजन वन कार्यालय पिपरामा पटक पटक सूचना लिन खोज्दा कार्यालय प्रमुख शिव बहादुर केसी सम्पर्कमा आउन सकेनन् ।

कार्यालयमा दुई पटक सूचना लिन जादा कार्यालय प्रमुख विदामा बसेको कर्मचारीहरुले बताए । कार्यालय प्रमुख केसीले अघिपछि पनि अधिकांश सेवाग्राहीको फोन नउठाउने गरेको पाइएको छ ।

स्रोतले भन्यो, ‘अधिकांश सयम केसी कार्यालयमा हुँदैनन्, काम विशेषले सम्पर्क गर्न खोज्यो फोन उठ्दैन् ।’

केसीले देखाउँने व्यवहारले उपभोक्ताहरु हैरानी खेप्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्