व्यक्तिको नाममा रहेको २२ कठ्ठा सरकारी जग्गा फिर्ता गराउन वडा कार्यालयको पहल


appharu

२७ श्रावण २०७९, शुक्रबार १७:०१ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल १७ मा रहेको २२ कठ्ठा जग्गा सरकारी नाममै फिर्ताका लागि वडा कार्यालयले पहल थालेको छ ।
२०६५ सालमा सरकारीबाट व्यक्तिकोे नाममा गएको देखिने वडा नं १७ रानीगञ्जमा रहेको २२ कठ्ठा जग्गा सरकारकै नाममा फिर्ताका लागि वडाध्यक्ष ज्ञानप्रसाद रेश्मीले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा पत्र लेख्नुभएको छ ।
‘नेपाल सरकारको नाममा रहेको जग्गालाई भूमाफियाको मिलेमतोमा होमबहादुर पुनको नाममा मिति २०६५/१२/१० गते जग्गाधनी लालपूर्जा निकालिएको भेटिएकाले र सम्पूर्ण अभिलेखहरु किर्ते प्रमाणित गरी आवश्यक प्रमाणसहित उक्त जग्गाधनी प्रमाणपत्र रद्द गरी पुन: नेपाल सरकारकै नाममा राख्नका लागि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ’–रेश्मीले लेखेको पत्रमा उल्लेख छ–उक्त जग्गा किर्ते काममा संलग्न दोषी व्यक्तिहरुलाई नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइदिनुहुन अनुरोध छ ।’
नापी कार्यालयमा २०२७ सालदेखि पर्ती देखिने सो जग्गा मिलेमतोमा किर्ते गरी कित्ता नम्बर थपेर २०६५ चैत १० मा व्यक्तिको नाममा गराइएको र त्यसयता लगातार तिरो तिर्दै आएको पाइएको वडाध्यक्ष रेश्मीले बताउनुभयो ।
उहाँले सो जग्गाको चौकिल्ला प्रमाणित र तिरो तिरेका सबै कार्यलाई वडा कार्यालयले खारेज गरी सरकारकै नाममा ल्याउन सबै प्रक्रिया अघि बढाएको बताउनुभयो ।
मिलेमतोमा कीर्ते गरी व्यक्तिको नाममा बनाइएको यो जग्गा नापीको रेकर्डमा सरकारी देखिएपनि मालपोत कार्यालयमा भने व्यक्तिको नाममा ४२ नं कित्ता बनाएर पास गरिएको छ । मालपोतको ढड्डामा कित्ता नं लेखिएको स्थानमा मेटेरे थपिएको देखिन्छ ।
उपमहानगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गर्नका लागि जग्गा खोजी गर्ने क्रममा सो जग्गा व्यक्तिको नाममा देखिएको थियो ।
बुटवल उपमहानगरभित्रका कुनैपनि सरकारी जग्गा संरक्षणको दायित्व नगरको भएकाले जग्गा सरकारी नाममै फिर्ता ल्याउने बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताउनुभयो । उहाँले उपमहानगरपालिकाले भूमाफियाबाट भएका सबै किर्ते कार्य रद्द गरी लालपूर्जा खारेज गरेर जग्गा सरकारी नाममै ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्