बुटवलको सडकबारे मेयरद्वारा विभागको ध्यानाकर्षण


appharu

३१ श्रावण २०७९, मंगलवार १७:५५ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको मुख्य सडक निर्माणका समस्याबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सडक विभागको ध्यानाकर्षण गराउनुभएको छ ।
नगरप्रमुख पाण्डेयसहितको टोलीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराउनुभएको हो ।
भेटका क्रममा प्रमुख पाण्डेयले सडक निर्माणमा गम्भीर नहुने र पटकपटकको ताकेतापछि पनि लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न सुझाव दिनुभएको थियो ।
‘बुटवलको सडकको दुराबस्था समाधानका लागि हामीले निरन्तर प्रयत्न गरिरहेकै थियौं,–नगरप्रमुख पाण्डेयले भन्नुभयो–ती प्रयासहरु पछि सडक विभागकै महानिर्देशकलाई भेटेर ध्यानाकर्षण गराउँदा अझै बढी चासो पुग्ने र सडक निर्माणको काम अघि बढ्ने विश्वासका साथ हामीले भेटेर सबै समस्याहरुको बारेमा जानकारी गराउँदै निर्माण कम्पनीको लापरबाहीबारे पनि जानकारी गराएका छौं ।’
उहाँले समयावधिभित्र काम सम्पन्न नगर्ने निर्माण कम्पनीको म्याद नथप्न र सडक निर्माणलाई छिटो सम्पन्न गर्ने उपायको खोजी गर्न सुझाव दिएको बताउनुभयो ।
‘महानिर्देशकले हामीलाई सडक निर्माणको काममा गम्भीरतापूर्वक चासो दिने प्रतिबद्धता जनाउनुभएको छ’–नगरप्रमुख पाण्डेयले भन्नुभयो–हामीले सडक निर्माणका क्रममा देखिएका समस्या र समाधानको बारेमा छलफल ग¥यौं, यसले सडक निर्माणको कामले तीब्रता पाउने आशा देखिएको छ ।’
बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तरगत निर्माण भइरहेको सडकको बुटवल चौराहादेखि गोलपार्क खण्डको बारेमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा निरन्तर चासो र दबाब दिइदै आएको छ ।
आयोजना कार्यालय, सडक डिभिजनमा डेलिगेशन र लगातारको छलफल पश्चात् बुटवल क्षेत्रका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिति समेत बनेको छ ।
समितिले साप्ताहिक रुपमा बैठक बसेर कार्यप्रगति तथा समीक्षा गर्दै सडक विस्तारका क्रममा देखिएको समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्दै आएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
खानेपानी, विद्युत कार्यालय र निर्माण कम्पनीसँग समस्या र समाधानको खोजीका लागि भएका छलफलले काममा सहज बनाएको उहाँले बताउनुभयो ।
(((((((((

प्रतिक्रिया दिनुहोस्