बुटवलले स्वीकृत गर्‍यो वार्षिक कार्यसञ्चालन तालिका : २ अर्ब लागतको कृषि थोक बजार प्राथमिकतामा

कर्मचारीको इन्धन र मोबाइल खर्च कटौति


appharu

५ भाद्र २०७९, आईतवार १४:३७ मा प्रकाशित

पालिकापत्र, बुटवल ।

बुटवल उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आइतबार बस्यो । नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको छ । जसअनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौतागर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने तालिका स्वीकृत भएको नगर प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।

स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिक सम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।

क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्नगर्ने र जेठभित्र योजनाहरुको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गाब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइलखर्च कटौती गर्ने निर्णय गरेको छ ।

बैठकले बुटवल १५ कर्साघाटमा २ अर्ब लागतमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपजथोक बजार सम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमाअघि बढाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोक सेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्