सिन्धुपाल्चोक माओवादीमा पहिरो, पूर्व मेयर सहित दर्जनौं नेताहरु एमाले प्रवेश


appharu

७ भाद्र २०७९, मंगलवार १६:०० मा प्रकाशित

पालिकापत्र,काठमाडौं । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकमा पहिरो गएको छ । जिल्लाका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता ्कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
सिन्धुपाल्चोकको चौसागढी नगरपालिकाका पूर्व मेयर माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य अमानसिंह तामाङ, माओवादीका प्रदेश कमिटी सदस्य तथा भोटेकोशी गाउँपालिका इन्चार्ज आङ छिरिङ शेर्पा दुईसय भन्दा बढी माओवादी कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा भोटेकोशी गाउँपालिकाबाट निवर्तमान गाउँपालिका उपाध्यक्ष दाबुटि शेर्पा लामा, नवनिर्वाचित वडाध्यक्ष निमा सोना शेर्पा, माओवादीका गाउँ पार्टी कमिटीका उपाध्यक्ष फुर्वा शेर्पा फुनु लगायत गाउँ पार्टी कमिटीका सदस्य र वाईसिएल सदस्यहरू रहेका छन् ।

त्यस्तै, चौसागढी नगरपालिकाबाट माओवादीका प्रदेश कमिटी सदस्य तथा निवर्तमान वडाध्यक्ष विष्णु लामा, माओवादीका जिल्ला सचिवालय सदस्य छत्रबहादुर तामाङ, जिल्ला सचिवालय सदस्य सीताराम गिरी, रघुसिं तामाङ, निवर्तमान वडाध्यक्ष तीर्थबहादुर श्रेष्ठ लगायत नगर कमिटी र वडा कमिटीका सदस्यहरू गरी दुईसयभन्दा बढी एमालेमा प्रवेश गर्नुभएको छ ।
सो अवसरमा अध्यक्ष ओलीले आगामी निर्वाचनमा सिन्धुपाल्चोकका दुई संघीय सांसद र चार प्रदेश सांसदमा एमाले विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य तथा चौसागढी नगरपालिकाका पूर्व मेयर अमान सिं तामाङले माओवादीको राजनीतिक दस्तावेजमा नेपाली काँग्रेसलाई प्रमुख शत्रु किटान गरेर लेखिएको छ, अनि उसैलाई भोट हालेर सरकारमा पुर्याउनपर्ने भएपछि माओवादीबाट समाजवादी क्रान्ति सम्भव छैन भन्ने निष्कर्ष निकालेर एमालेमा प्रवेश गरेको बताउनुभयो । माओवादीका प्रदेश कमिटी सदस्य तथा भोटेकोशी गाउँपालिकाका इन्चार्ज आङ छिरिङ शेर्पाले सिन्धुपाल्चोक जिल्लालाई एमालेको किल्ला बनाउन आफूलाई समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज शेरबहादुर तामाङका्े सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, पोलिटव्यूरो सदस्य अरुण नेपाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्