रोटरी र रोटर्‍याक्टले गरे श्रृंगेश्वर धाममा वृक्षारोपण र ज्येष्ठ नागरिक मिलन केन्द्रलाई किचन सामग्री हस्तान्तरण


appharu

१० भाद्र २०७९, शुक्रबार १३:०० मा प्रकाशित

पालिकापत्र, बुटवल । रोटरी क्लव अफ बुटवल र रोटर्‍याक्ट क्लव अफ बुटवलले संयुक्तरुपमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् ।
तिलोत्तमा नगरपालिका डिंगरनगरस्थित श्रृंगेश्वर धाम परिसरमा रहेको रोटरी बाटिकामा दुई क्लवले संयुक्तरुपमा वृक्षारोपण गरेका हुन् । रोटरीयन र रोटर्‍याक्टरहरु सहभागी भएर वृक्षारोपण कार्यक्रम गरिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।
कार्यक्रममा रक्तचन्दन, रुद्राक्ष जस्ता विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । त्यस अवसरमा अध्यक्ष पियाले रोपिएका बिरुवाको संरक्षण र मलजल गर्न श्रृंगेश्वर धामका सञ्चालकहरुलाई आग्रह गरे । उनले बिरुवाको रेखदेखका लागि क्लवले पनि बेलाबेलामा निरीक्षण गर्ने बताए ।
कार्यक्रम संयोजक रोटर्‍याक्ट क्लव अफ बुटवलका आइटी अफिसर प्रकाश भण्डारीले वृक्षारोपण गरी वातावरणीय संरक्षणमा सबैको ध्यान जानुपर्ने उल्लेख गरे । कार्यक्रममा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्षहरु तथा बोर्ड सदस्यहरु, रोटर्‍याक्ट क्लव अफ बुटवलका अध्यक्ष नविनराज बन्जाडेल, सचिव प्रशान्त न्यौपाने लगायत विभिन्न रोटरीयन तथा रोटर्‍याक्टरहरुको सहभागिता रहेको थियो ।
रोटरी क्लव अफ बुटवल र रोटर्‍याक्ट क्लव अफ बुटवलले तिलोत्तमामा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रलाई भान्सामा प्रयोग हुने सामग्री हस्तान्तरण गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच दुईवटा क्लवले संयुक्त रुपमा तिलोत्तमाको श्रृंगेश्वर धाम परसरमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमै पुगेर किचन सामग्री हस्तान्तरण गरेका हुन् । केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेलाई सामग्री हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा केन्द्रका अध्यक्ष पाण्डेले क्लवले प्रदान गरेको किचन सामग्रीले केन्द्रमा रहेका ज्येष्ठ नागरिकलाई फाइदा पुग्ने बताए । उनले यस्ता मानवीय र रचनात्मक कार्यलाई आगामी दिनमा पनि जारी राख्न क्लवलाई आग्रह गरे ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई किचन सामग्री प्रदान गर्न पाउँदा खुशी लागेको बताए । उनले ज्येष्ठ नागरिकहरुको सुखदु:खमा क्लव सधै साथमा रहेको बताए ।
कार्यक्रममा रोटरीयनहरु कृष्ण पराजुली, जिवकान्त काफ्ले, रोटर्‍याक्ट क्लव अफ बुटवलका अध्यक्ष नविन बन्जाडेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्