अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सपना पूरा, सबैलाई धन्यवाद : विष्णु पौडेल


appharu

११ भाद्र २०७९, शनिबार ११:२१ मा प्रकाशित

Interview with Finance Minister and General Secretary of the ruling Nepal Communist Party (NCP) Bishnu Prasad Paudel, on Saturday, October 31, 2020. Photo: RSS

पालिकापत्र,बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही का सांसद विष्णु पौडेलले बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने आफूहरुको सपना पूरा भएको भन्दै सबै सरोकारवालालाई धन्यवाद दिएका छन् ।

नेकपा एमालेको बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउन आवश्यक रहेको एजेण्डा पारित गरेको थियो । सोही अनुसार रुपन्देही २ का सांसद एमाले नेता पौडेलले यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डिपिआर निर्माण, बजेट बिनियोजन, बहुबर्षिय ठेक्काको लागि सहमतीमा नेतृत्वदायी भूमिका खेलेका हुन् ।

शनिबार सामाजिक सञ्जल फेसबुकमा उनले लेखेका छन्– बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने हाम्रो सपना आज पूरा भएकोछ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डिपिआर निर्माण, बजेट बिनियोजन, बहुबर्षिय ठेक्काको लागि सहमती, प्रक्रियागत रुपमा झन्झटीलो आयोजना स्थलमा रहेका रुखहरुको ईआइए र रुख कटान आदेशको सहमती, निर्माण सामाग्रीको अभाव र कोभिड महामारी लगायतका अफ्ठ्यारा मोडहरु पार गर्दै आज उदघाटनको चरणमा आइपुग्दा अत्यन्तै खुसी लागेको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सफल सञ्चालन भई राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा, सम्मेलन, कार्यक्रम, प्रदर्शनी एवम् बैठकहरु आयोजना भई यस क्षेत्रको आर्थिक विकासमा थप मद्दत पुग्नेछ भन्ने आशा लिएकोछु । बुटवल मण्डप भित्र यसै आयोजनाको महत्वपूर्ण अंगको रुपमा निर्माणाधीन अन्तराष्ट्रिय प्रदर्शनी स्थल पनि छिटै निर्माण सम्पन्न भएर कार्यान्वयनमा आउनेछ । यो आयोजना छनौट देखि निर्माण सम्पन्न हुने चरण सम्म ल्याउन योगदान गर्नुहुने आदरणीय आमा बुवा दिदीबहिनी तथा दाजुभाईहरु, व्यावसायीक संघ संस्था, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, निर्माण व्यावसायी, सम्बद्ध श्रमिक, ईञ्जिनियर तथा प्राविधिक साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
काठमाडौं बाहिरको सबैभन्दा ठूलो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ११ करोड लागतमा बनेको कूल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही–२ का सांसद पुर्व अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खांण,शहरी विकास मन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी सहभागी छन् ।
बुटवल राजमार्ग चौराहादेखि ५सय मिटर पुर्वतर्फ बुटवल–१०स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको सम्मेलन केन्द्रमा १३ वटा वातानुकुलित हल छन् ।
आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुई तलामा गरी ८ सय ७२ वटा कुर्ची जडान गरिएको छ ।
२०७१ साल पुसबाट निर्माण शुरु गरिएको सम्मेलन केन्द्र दुई चरणमा सम्पन्न भएको हो । कोरोना महामारी र रुख कटानमा ढिलाईका कारण प्रभावित आयोजनाको दोस्रो चरणका काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो । तोकिएको समयमा काम नगरेपछि २०७९ साल कार्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।
यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप २ वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । सम्मेलन केन्द्रका १७ सय कुर्सी आवश्यकता अनुसार सार्न मिल्ने छन् । अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पाङ्ग्रे र ४ सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ ।
सम्मेलन केन्द्रमा बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, कर्मचारी आवास,वाटर फाउन्टेन,पानी पोखरी र प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट बनेका छन् । जसमध्ये एउटा भीआईपी गेट छ । प्रत्येक गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ ।
विद्युतका लागि ६ सय ३० केभिए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । जमिन मुनिको पानी रिचार्ज गर्न ८ वटा रिचार्ज पीट पनि बनाइएको छ ।
सम्मेलन केन्द्रसंगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ । औद्योगिक ब्यापार मेलाहरु सञ्चालन गर्न प्रदर्शनी केन्द्र बनाइएको हो । प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र दुबैलाई मिल्ने गरी पार्किङ स्थल र प्रवेशद्वार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्