एक करोड बढी रकम हडप्न गाउंपालिका अध्यक्षले फसाए दुई भारतीयलाई

थुनामा रहेकालाई तत्काल रिहा र दोषीलाई कारवाही नगरे कांग्रेस र जसपाद्वारा कडा आन्दोलनको चेतावनी


appharu

१२ भाद्र २०७९, आईतवार ०८:३० मा प्रकाशित

पालिकापत्र, रामग्राम । नवलपरासी पश्चिमको एक गाउंपालिका अध्यक्षले साझेदारी ब्यापारको एक करोड ३३ लाख मुनाफा हडप्न प्रहरीसंगको मिलेमतोमा दुई भारतीय नागरिकलाई लागुऔषधमा मुद्दामा फसाएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित पाल्हीनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा हडप्ने (नदिने) उद्देश्यले लागु औषध मुद्दामा फसाएको भन्दै दोषीलाई कारवाहीको माग गरिएको छ ।

स्थानीयले गाउंपालिका अध्यक्ष गुप्ता स्वयं लागु औषाधको कारोबारी भएका र उनले मान्छेहरु खटाएर लागु औषध कारोबार गर्दै आएकाले त्यस विषयमा उनीमाथि नै उच्चस्तरीय अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

थुनामा रहेका गुप्ताका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले शनिबार परासीमा पत्रकार सम्मेलन गरी गाउंपालिका अध्यक्ष गुप्ताकै योजनामा भुमहीमा बसेर कवाड व्यवसाय गर्दै आएका गुप्ता र पासवानलाई फसाएको दावी गरेका छन् । उनीहरु भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका हुन् ।

गाउंपालिका अध्यक्ष गुप्ता पनि कवाड ब्यवसायी हुन् । पछिल्लो समय उनले रामा गुप्तासंग साझेदारीमा कवाड व्यवसाय गर्दै आएका थिए । तर व्यवसायबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमति बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएका थिए ।

दिनुपर्ने रकम हडप्नकै लागि गाउपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कंडेललाई पनि प्रभावित गरेर भारतीयलाई लागु औषध मुद्दामा पसाएको आरोप छ ।
थुनामा रहेका गुप्ता र पासवान पूर्णतः निर्दोष रहेकाले तत्काल रिहाई गर्न र गाउंपालिका अध्यक्षमाथि छानवीन गर्न माग गरेका छन् ।

प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको छानवीनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि उनीहरुको माग छ । आर्थिक चलखेल गरेर गाउंपालिका अध्यक्ष गुप्ताका सहयोगीलाई बयान फेर्न लगाई उनैलाई मात्र दोषी देखाएर गाउंपालिका अध्यक्षलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले गहिराईमा पुगेर छानवीन गर्न माग गरेका छन् ।

गुप्ता र पासवानलाई फसाउन गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी गाउँपालिकाका नगर प्रहरी (पूर्व प्रहरी) रघुनाथ धोवीले असार २२ गते रामग्राम नगरपालिका १७ पिपरहियामा चिया पसलभित्र बोलाएर आफैले ल्याएको लागु औषध मोटरसाइकलमा राखिदिएर प्रहरीलाई बोलाएर पक्राउ गराएको रामा गुप्ताका साला सन्जय शाहले बताए ।

‘गाउंपालिका अध्यक्षसंग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियोे’–शाहले भने–‘हामीले पाउनुपर्ने एक करोड ३३ लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए,त्यस दिन पिपरहियामा बोलाए,पैसा दिने होला भनेर गएको भिनाजुलाई फसाउन रहेछ ।’

शाहका अनुसार भिनाजु रामा गुप्ता र पासवान मोटरसाइकल बाहिर राखेर चिया पसल भित्र बसेको बेला गाउंपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी धोवीले उक्त मोटरसाइकलमा लागु औषधको झोला राखिदिए । त्यसपछि गाउंपालिका अध्यक्षले नै प्रहरीलाई सूचना दिएर पक्राउ गराएको शाहको दावी छ ।

गाउंपालिका अध्यक्ष गुप्तासंग रामाले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएको सन्जयले बताए । पाउनुपर्ने रकम दिन आलटाल गरेपछि कवाड दिन छाडेको र उनले धम्की दिंदै आफूलाई नै बेच्न दवाव दिंदै आएको शाहले बताए । पछिल्लो समय भुमहीस्थित बजाज मोटरसाइकल उद्योगबाट उत्पादित कवाड विक्रिका लागि २० लाख धरौटी मागेपछि रकम नभएकाले रामाले गाउपालिका अध्यक्षसंग २० प्रतिशत नाफा पाउने गरी साझेदारीमा कवाड कारोबार गर्दै आएको बताए ।

पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पद र पैसाको आडमा गाउंपालिका अध्यक्षले तिर्नुपर्ने मोटो रकम नतिरेर उम्किन भारतीय नागरिकलाई फसाएको पाइएको बताए ।

गठबन्धनको आडमा गाउंपालिका अध्यक्षले प्रहरी प्रशासनलाई प्रभावित गरेर उम्किन खोजेको भन्दै यादवले निर्दोष भारतीयलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘भारतीय नागरिकको पक्षमा बोलिदिने कोही छैनन् भनेर झुटा मुद्दामा फसाउन खोजिएको छ,यस्तो अन्याय भयो भने भोलि भारतमा रहेका नेपालीमाथि यस्तै घटना दोहोरिन सक्छन’–यादवले भने–‘यो घटनामा प्रहरीको भूमिका शंकास्पद छ ।’

नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रमप्रसाद यादवले गठबन्धनको आडमा गाउंपालिका अध्यक्ष गुप्तालाई बचाउन प्रहरी प्रशासन समेत लागेको भन्दै गृहमन्त्रालयको ध्यान जानुपर्ने माग गरे । अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित हुन् । गुप्ताले आफू उम्किन प्रहरी प्रशासन र पार्टी नेतृत्वसंग ठूलै चलखेल गरेको भन्दै उनको कल डिटेल अनुसन्धान गर्न माग गरे । गुप्ता र पासवान बसेको ठाउंमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाई छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलराज उपाध्यायले छानवीन अन्तिम चरणमा पुगेको र दोषी कुनै हालतमा उम्किन नदिइने बताए ।
निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ परेका दुवै युवक तीन महिनादेखि प्रहरी हिरासतमा छन् । प्रहरीले गाउपालिका अध्यक्ष गुप्ताका सहयोगी धोबीलाई पक्राउ गरेको छ । कांग्रेस र जसपाले गाउंपालिका अध्यक्ष र जिल्ला प्रहरी प्रमुखबीच भएको फोन सम्बादको कल डिटेल अनुसन्धान गर्न पनि माग गरेका छन् ।
घटनाको चौतर्फी विरोध भएपछि गाउंपालिका अध्यक्ष गुप्ताले माओवादी अध्यक्ष प्रचण्डलाई समेत भेटेर आफुलाई बचाइदिन हारगुहार गरेको स्थानीय बताउंछन् । गुप्ता प्रचण्डको नजिक छन् । गाउंपालिका भवन उद्घाटन गर्न गुप्ताको निम्तोमा प्रचण्ड आएका थिए ।
यसअघि गत साउन ३० गते नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान, जसपा गाउँ कार्य समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला समिति सदस्य चन्द्रमणि चौधरीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउंदै निर्दोष भारतीय नागरिकलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्