२ हजार मत भएका राजु गुरुङले दिन सक्लान् त विष्णु पौडेललाई टक्कर ?

गठबन्धनका कारण संघ र प्रदेशहरुमा सरकार टिकाउन र भाग पुराउन मन्त्रालय र मन्त्रीको संख्या दोब्बर बढाएर वर्षेनी अरबौं रुपैयांको आर्थिक भार थोपरेर मुलुकको अर्थतन्त्र चौपट बनाउन लागेकाले मतदाताले गठबन्धनलाई नरुचाएकाले गठबन्धनले मत नपाउने विश्लेषकहरु बताउंछन्


appharu

२३ भाद्र २०७९, बिहीबार २२:१४ मा प्रकाशित

पालिकापत्र,बुटवल । सत्ता गठबन्धनका मुख्य तीन दल कांग्रेस,माओवादी र एकीकृत समाजवादी मध्ये रुपन्देही क्षेत्र २ कस्को भागमा पर्छ ? यो खबर तयार गर्दासम्म टुंगो लागेको छैन ।

तर एकीकृत समाजवादीका राजु गुरुङ भने गठबन्धनका साझा उम्मेदवार भन्दै झण्डै एक महिनाअघिदेखि सामाजिक सञ्जालमा प्रचार प्रसार गरिरहेका छन् । रुपन्देही जिल्ला इन्चार्ज समेत रहेका गुरुङलाई उनको पार्टीले यही क्षेत्रका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

यदि एकीकृत समाजवादीले नै यो क्षेत्र पाए गुरुङ नै उम्मेदवार हुने र उनले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुु पौडेलको चुनौति सामना गर्नुपर्ने निश्चित हुनेछ । किनकी एमालेले पनि पौडेललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

रुपन्देही–२ मा लगातार तीनवटा चुनाव जित्दै आएका पौडेललाई के सांच्चै यसपटक गुरुङले टक्कर देलान् वा कस्तो नतिजा आउला भन्ने धेरैको चासो हुनेछ । किनकी गुरुङ एक वर्ष अघिसम्म एमालेकै जिल्ला नेता थिए । तर पार्टी विभाजन पछि उनी माधव नेपालको पार्टी एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बने । अहिले अध्यक्ष पद अविराम रसाइलीलाई सुम्पेर आफू जिल्ला इन्चार्ज छन् । उनी पार्टीको प्रदेश सचिव पनि हुन् । पार्टी विभाजनपछि नै उनले आफू विष्णु पौडेलविरुद्ध उठेर जित्ने भाषण गर्दै आएका छन् ।
तर गत बैसाख ३० गतेको स्थानीय तह चुनावमा वडाध्यक्ष उम्मेदवारले पाएको भोटको तथ्यांक हेर्दा गुरुङको पार्टी यो क्षेत्रमा ज्यादै कमजोर छ । यो क्षेत्रका २३ वटा वडामध्ये उनको पार्टीले बुटवलको वडा नं २ को अध्यक्ष पदमा मात्र जित निकालेको थियो । एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले बुटवल–२ मा ८७१, वडा नंं. ३ मा १६१, वडा नंं. ९ मा ३५, वडा नंं.११मा १६३ र वडा नंं.१३ मा ७० मत पाएका छन् ।

तिलोत्तमाको वडा नंं.१ मा १ मत, वडा नंं. २ मा १२५ र वडा नंं. ३ मा १९ र वडा नंं. ६ मा २६ मत पाएका छन् । सैनामैनाका ४ वटै वडामा अध्यक्ष पदमा उम्मेदवारी दिन सकेको थिएन । एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरुले पाएको कुल मत १४७१ मात्रै छ ।

एकीकृत समाजवादीले २३ वडाका ९२ जना वडा सदस्य पदमध्ये ३० पदमा उम्मेदवारी दिएको थियो तर एकजनाले पनि जित्न सकेनन् । वडा सदस्य उम्मेदवारहरुले पाएको औसत मत जोड्दा पनि एकीकृत समाजवादीको मत क्षेत्र नं २ मा २ हजार भन्दा कम छ ।
जबकि गुरुङले हराउंछु भनेको विष्णु पौडेलको पार्टी एमालेका वडाध्यक्षहरुले पाएको मत १६ गुणा बढी अर्थात ३३ हजार १ सय ८७ छ ।
बलियो संगठन र जनाधार भएको दलको उम्मेदवारसंग टक्कर लिन त्यस्तै संगठन र जनाधार चाहिनेमा गुरुङसंग त्यो नभएको एमाले नेताहरुको तर्क छ ।

‘रुपन्देही २ मा एमालेको संगठन र जनाधार अरु सबै दलको भन्दा राम्रो छ, अर्कोतर्फ विष्णु पौडेलले गरेका विकास निर्माण र योजनालाई हेरेर गठबन्धनकै दलका मतदाताले पौडेललाई भोट दिन्छन्’–एमालेका ती नेताले भने–‘२०७४ सालमा एमाले हाराहारीकै जनमत भएको काँग्रेसका उम्मेद्वारलाई त दोब्बर मतले पराजित गरेका थिए,अहिले मुस्किलले २ हजार मत भएको पार्टीका उम्मेदवारसंग टक्कर र प्रतिस्पर्धा हुन्छ भन्नु आफैमा हास्यास्पद हो ।’
२०७४ मा पौडेलले ४४ हजार ९ ले मत ल्याउदा युवराज गिरीले २१ हजार ९४५ मत मात्रै ल्याएका थिए । गठबन्धनमा आवद्ध ५ दलका वडाअध्यक्षहरुले पाएको मत ३९ हजार ६ सय ५४ मत छ । यस हिसाबले गठबन्धन ६ हजार ४ सय ६७ मतले अगाडि देखिन्छ ।

तर गुरुङले गठबन्धनका सबै दलको भोट सर्लक्कै आफूलाई आउला र जितौंला भन्ने सोचेका भए त्यो दिवासपना मात्रै हुने एमालेका नेता बताउंछन् ।
नेकपा एमाले रुपन्देही–२ का क्षेत्रीय संयोजक बाबुराम पन्थी स्थानीय तह चुनावको मतले कुनै फरक नपर्ने बताउँछन् । ‘स्थानीय चुनावमा पार्टीभित्रै अन्तरघात समेत भएकाले हाम्रो मत घटेको हो, अब त्यस्तो हुन्न’–पन्थीले भने–‘विभिन्न दलबाट एमाले प्रवेशको लहर पनि चलेको छ,त्यसले गर्दा पौडेललाई कसैले चुनौति दिन सक्दैनन् ।’
बुटवल–बेलहिया ६ लेन सडक, बुटवल अन्तर्राष्ट्रिय सभा हल पौडेलकै पहलमा सम्पन्न भएका र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र,कालिगण्डकी तिनाउ डाइभर्सन,तिनाउ नदीमा सिग्नेचर पुल, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानी, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक विस्तार,गौतमबुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवनका योजनाकार पनि पौडेल भएकाले तिनलाई पूर्णता दिन पनि मतदाताले पौडेललाई रोज्ने पन्थी बताउंछन् ।
नेकपा एकीकृत समाजवादी रुपन्देही अध्यक्ष अविराम रसाइली भने गुरुङ नयां अनुहार भएका र गठबन्धनको साथले चुनाव जित्ने बताउंछन् । यहां विष्णु पौडेललाई जित्न एमालेको मत तान्न सक्ने उम्मेदवार चाहिने र त्यो राजु गुरुङ नै भएको उनको तर्क छ । जिल्ला अध्यक्ष रसाइलीले रुपन्देही २ मा पार्टीको संगठन राम्रै रहेको दावी गर्छन् ।

राजनीतिक विश्लेषक ऋषि आजाद राजु गुरुङ अनटेस्टेड युवा नेता भएकाले केही हदसम्म आकर्षण भएपनि आफ्नै सरकार ढालेर पार्टी विभाजन गरेर गएको,एमालेको बलियो संगठन र जनाधार भएको र विष्णु पौडेलले रुपन्देहीलाई विकासमा देशकै रोलमोडल बनाएकाले उनीसंग अरु दलका उम्मेदवारको प्रतिस्पर्धा हुन नसक्ने बताउंछन् ।

गठबन्धन सरकारले संघ, प्रदेशहरुमा सरकार टिकाउन र भागबण्डाका लागि मन्त्रालय र मन्त्रीको संख्या दोब्बर बढाएर देशमाथि वर्षेनी अरबौं रुपैयांको आर्थिक भार थोपरेर मुलुकको अर्थतन्त्र चौपट बनाउन लागेकाले मतदाताले गठबन्धनलाई नरुचाएको र एउटै दललाई मत दिनुपर्छ भन्ने निश्कर्षमा पुगेकाले गठबन्धनले मत नपाउने उनले बताए ।

अर्कोतर्फ गठबन्धनका दलका उम्मेदवार आकांक्षीहरु टिकट नपाएपछि असन्तुष्ट हुने गठबन्धनभित्रै भद्रगोल हुन गई त्यसको फाइदा एमालेलाइृ नै हुने आजादको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्