करहिया सामुदायिक वनको २३औं साधारणसभा, वनलाई उत्पादनसंग जोड्न जरुरी


appharu

२४ भाद्र २०७९, शुक्रबार १६:४२ मा प्रकाशित

पालिकापत्र,बुटवल । सामुदायिक वनहरुलाई उत्पादन र आयआर्जनसंग जोडेर वहुआयामिक ढंगले उपयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

करहिया सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा ७–९को २३औं साधारणसभामा बोल्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले सामुदायिक वनहरुलाई उत्पादनसंग जोड्न जरुरी रहेकोमा जोड दिए ।

वनलाई कृषि,पर्यटन,रोजगारी र वातावरण संरक्षण लगायतका क्षेत्रसंग जोडेर वहु उपयोग गर्न सकिने र यसबाट आयआर्जन गरी आर्थिक समृद्धिमा योगदान गर्न सकिने बताए । नगरभित्र रहेका १० वटा सामुदायिक वनहरुको संयुक्त वैठठक राखेर एक वन एक उत्पादनको अवधारणाबाट पनि जान सकिने सोंच आफूले बनाएको नगर प्रमुख खांणले बताए ।

पानीका स्रोतहरु सुक्ने समस्या बढ्दै गएकाले सामुदायिक वनहरुमा पोखरी निर्माण गरी आकाशको पानी स्टोरेज गर्नेतर्फ पनि सोच्न उनले सबैसंग आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले सामुदायिक वनको संरक्षण र उपभोक्ताको हक अधिकारका पक्षमा स्थानीय सरकार सधैं हातेमालो गर्न तयार रहेको बताइन् ।

तिलोत्तमा ८ का वडा अध्यक्ष कृष्ण पौडेल,सामुदायिक वन उपभोक्ता समितिका सल्लाहकार यज्ञ गैरे,हरिलाल पाण्डे,हेमन्त पाण्डे,शंकरनगर सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत लगायतले सरकारले सुदुर पश्चिमको एउटा जिल्लाको समस्यालाई देखाएर विना विकल्प देशभरका वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेर २३ हजार सामुदायिक वनको व्यवस्थापन अवरुद्ध गरेर अंध्यारो सुरुङमा धकेलेको र लाखौं उपभोक्ताको अधिकार कुण्ठित गरेको बताए ।

उनीहरुले सरकारले यथाशीघ्र वन व्यवस्थापन फुकुवा नगरे आन्दोलनमा जान तयार हुनुपर्ने आवाज समेत उठाए । वन व्यवस्थापन कार्यविधि खारेज गर्दा वनका काठ कुहिएर खेर गएका र अर्बौं रुपैयांको काठ र फर्निचर आयात गर्नुपर्दा देशको ब्यापार घाटा झनै बढ्न गएको भन्दै सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन ।

कार्यक्रममा संस्थाका अध्यक्ष खेमप्रसाद गौतमले वार्षिक प्रतिवेदन, उपाध्यक्ष खिमानन्द न्यौपानेले भावी योजना र आन्तरिक लेखा संयोजक निरन्जनप्रसाद पराजुलीले आयव्यवय विवरण प्रस्तुत गरेका थिए । करहिया सामुदायिक वनमा बोटानिकल गार्डेन बनाउने प्रकृया शुरु भएपनि वजेट अभावमा अलपत्र परेको छ । कार्यक्रममा वनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक विद्यालयका १४ जना छात्रछात्रालाई २ हजारका दरले छात्रवृत्ति रकम प्रदान गरेको सहसचिव बाबुराम अर्यालले जानकारी दिए ।

२०४६ सालदेखि संरक्षण शुरु भई २०५४ पुसमा उपभोक्तालाई हस्तान्तरण भएको करहिया सामुदायिक वन २६९ हेक्टर क्षेत्रफलको छ भने उपभोक्ताको घरधुरी संख्या ३ हजार २ सय ८५ र उपभोक्ता संख्या १८ हजार २ सय ८८ छन् ।

प्रतिक्रिया दिनुहोस्