एकीकृत समाजवादीका केन्द्रीय सदस्य / रुपन्देही पूर्व इन्चार्ज डा. चापागाई एमालेमै फर्किए


appharu

२६ भाद्र २०७९, आईतवार १०:४९ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेकपा एकीकृत समाजवादी कांग्रेस र माओवादीको पुच्छर मात्रै बनेकाले भविष्य अन्धकार देखेको भन्दै पार्टीको केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पुर्व इन्चार्ज डा. बालकृष्ण चापागाई नेकपा एमालेमै फर्किएका छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् । प्रेस चौतारीका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका चापागाई एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत थिए ।

एकीकृत समाजवादी कांग्रेस र माओवादीको पुच्छर मात्रै बनेको र आफ्नो छुट्टै पहिचान अस्तित्व स्थापित गर्न असफल भएकाले नेपालको कम्युनिष्ट आन्दोलन,आर्थिक समृद्धि र विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्ने निश्कर्षका साथ एमालेमै फर्किएको चापागाईले बताए ।

एकीकृत समाजवादीमा रहेका इमान्दार सबै साथीहरु ढिलोचांडो एमालेमै फर्किने भन्दै चापागाईले अब मुलुकमा वाम प्रगतिशील र परिवर्तनकारी शक्तिको नेतृत्व गर्ने एमालेले गर्ने र पुंजीवादी दक्षिणपन्थी शक्तिको नेतृत्व गर्ने कांग्रेस गरी दुई मुल धार मात्रै रहने विश्लेषण गरे ।

चुनावको मुखमा पार्टीका संस्थापक नेता चापागाई एमालेमा फर्किएपछि एकीकृत समाजवादी रुपन्देही २ मा थप कमजोर बन्ने निश्चित छ । रुपन्देही २मा एकीकृत समाजवादीका राजु गुरुङले विष्णु पौडेललाई जित्ने भन्दै भाषण गर्दै आएका छन् ।

पार्टी उपाध्यक्ष विष्णु पौडेलले डा. चापागाईको एमाले प्रवेशले ठूलो अर्थ राख्ने भन्दै भ्रममा रहेका सबै वामपन्थी र कम्युनिष्ट कार्यकर्ताहरु एमालेमै फर्किनुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्