चितवनमा प्रचण्डलाई धक्का, माओवादी जिल्ला सह-इन्चार्ज एमाले प्रवेश

माओवादी केन्द्र कांग्रेसको पुच्छर मात्रै बनेको र नेपालको राजनीतिलाई अस्थिर बनाउने स्वार्थकेन्द्रीत काम मात्र गरेकाले एमाले रोजेको परियारले बताए ।


appharu

३० भाद्र २०७९, बिहीबार १३:३९ मा प्रकाशित

पालिकापत्र,चितवन । चितवनमा माओवादी केन्द्रका सहइन्चार्ज सहितका नेताहरु चुनावको मुखैमा नेकपा एमाले प्रवेश गरेका छन् । पार्टीका प्रभावशाली नेता यमबहादुर परियार इन्द्रजीत नेकपा एमालेमा प्रवेश गरेसंगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धक्का लागेको छ ।
एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ । परियारलगायतका नेताहरुको प्रवेशलाई एमाले नेताहरुले टे«लरमात्र भन्दै चुनावअघि थप धक्का दिइने दाबी गरेका छन् ।

एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।

माओवादी केन्द्र कांग्रेसको पुच्छर मात्रै बनेको र नेपालको राजनीतिलाई अस्थिर बनाउने स्वार्थकेन्द्रीत काम मात्र गरेकाले एमाले रोजेको परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्