संविधान दिवसको पुर्वसन्ध्यामा एमालेको वृहत पदयात्रा, गठबन्धनले देशलाई ओरालो लगायो : ओली


appharu

१ आश्विन २०७९, शनिबार १०:१४ मा प्रकाशित


पालिकापत्र,काठमाडौं । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन काठमाडौंमा बृहत पदयात्रा गरेको छ । पदयात्रामा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल लगायतका नेता कार्यकर्ताहरुको हजारौंको संख्यामा उत्साहजनक उपस्थिति थियो ।
पदयात्रापछि सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको टिप्पणी गरे । लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेकाले मंसिर ४ गते देश, लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा ओलीले जोड दिए ।

लोकतन्त्र, राष्ट्रियताको पक्षमा लाग्न आव्हान गर्दै ओलीले भने, ”देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा मेरो अनुरोध लोकतन्त्र, राष्ट्रियताको पक्षमा, नेपालको सम्पूर्ण भूभाग हाम्रो हो, राष्ट्रिय अखण्डताको पक्षमा लाग्न आग्रह गर्छु ।’

अध्यक्ष ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताए ।

उनले भने नेपाल नेपालीको हो । नेपाल अरु कसैले चलाउने होइन । लोकतन्त्र नेपालको शासन हो । नेपाली जनताको शासन हो । नेपाली जनता, लोकतन्त्र हार्न हुँदैन, विकास हार्न हुँदैन, सुशासनको प्रयास हार्न हुँदैन ।’

पदयात्राको उपस्थिति र उत्साहले संविधान, राष्ट्रियता र लोकतन्त्र र देशलाई सही बाटोमा अघि बढाउने संकल्प देखिएको भन्दै उनले धन्यवादसमेत दिए ।

आफ्नो मतव्यको अन्तिममा ओलीले राष्ट्रिय झण्डा फहराउन सबैलाई आग्रह गरेका थिए ।
पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको हो ।

ओली आफैंले पदयात्राको नेतृत्व गरेका थिए । उनको साथमा पत्नी राधिका शाक्य पनि थिइन् ।
निर्वाचन आयोगले असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन पदयात्रा आयोजना गरेको एमालेले जनाएको छ ।

वाकथनको वसन्तपुर पुगेर समापन भएको छ ।
संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम समुदायलाई सहभागिताका लागि आह्वान गरिएको थियो ।

संविधासनभामा संविधान निर्माणको अगुवाइ गरेका तथा संविधान जारी गरेबापत भारतले लगाएको नाकाबन्दीको समेत सामना गरेका नेता केपी शर्मा ओलीको नेतृत्वमा एमालेले पदयात्रा गरेको हो ।

यस वाकाथनमार्फत एमालेले एकातिर संविधान निर्माणको अगुवाइ गरेको पार्टीले नै संविधानको वास्तविक स्वामित्व लिएको सन्देश दिन खोजेको हो ।

एमालेले यो पदयात्रामार्फत पार्टी चुनावको दौडमा होमिएको सन्देश पनि दिन खोजेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्