५७ वर्ष पुुरानो गुप्ता नसरीका विन्दुलाई प्रबल जनसेवा श्री पदक


appharu

३ आश्विन २०७९, सोमबार २२:१५ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा डज्ञाइभरटोलस्थित गुप्ता नर्सरीका सञ्चालक विन्दु गुप्तालाई नर्सरी व्यवसायमा लामो समयदेखि योगदान गरेको भन्दै सरकारले प्रबल जनसेवा श्री पदक दिने भएको छ । संविधान दिवसका दिन गुप्तालाई उक्त पदक दिने घोषणा भएको हो । रूपन्देहीमा पहिलो पटक २०२२ सालमा स्व रघुनाथ गुप्ताले सुरु गरेको गुप्ता नर्सरी यस क्षेत्रको चर्चित नर्सरी हो । रघुनाथले सुरुमा यसलाई तरकारी खेतीसँग जोडेर नर्सरी गरेका थिए । अहिले यो नर्सरी व्यवसायलाई उनको तेस्रो पुस्ताले निरन्तरता दिएका छन् ।

स्वर्गीय रघुनाथका छोराहरू विनोद, शम्भु, राजेन्द्र, राजेश, सुरज, अर्जुन गुप्ता र नातिहरूसमेत अहिले उही नर्सरीमा व्यस्त छन् ।

गुप्ता नर्सरीले फूलसँगै फूलका बिरुवा र फलफूलका बिरुवाहरू उत्पादन र बिक्री गर्दै आएको छ । ५७ वर्षदेखि पुष्प व्यवसायमा रमेको गुप्ता परिवारमा अहिले ६ परिवारका २५ जनाभन्दा बढीले साथ दिएका छन् । ६ दाजुभाइहरू मिलेर गरेको यो नर्सरी व्यवसायबाट उनीहरूले मनग्य आम्दानी पनि गरेका छन् ।

मेला, महोत्सवमा गुप्ता नर्सरी अनिवार्य जस्तै छ यस क्षेत्रमा । धेरै मेलामा उत्कृष्ट स्टलको पुरस्कार गुप्ता नर्सरीले हात पार्दै आएको छ । यो नर्सरीले तिलोत्तमाकै कफी कम्पनीमा २ बिघामा र ओमसतियाको ठुटिपीपलमा २ बिघा र पाल्पामा १३ रोपनीमा नर्सरी स्थापना गरेको छ ।

सन् २००३ मा स्विट्जरल्याण्डको जेनेभास्थित बीआईडी संस्थाले इन्टरनेसनल गोल्ड स्टार अवार्ड गुप्ता नर्सरीलाई प्रदान गरेको छ । त्यस्तै, फ्लोरिकल्चर एसोसिएसन नेपालले २०६४ सालमा कदरपत्र प्रदान गरेको छ । त्यसबाहेक यस क्षेत्रमा हुने मेला महोत्सवबाट नर्सरीले धेरै पुरस्कार प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्