कालिकापथ सडकको फुटपाथ निर्माणमा गुणस्तरहीन काम, एमालेद्वारा गुणस्तरीय काम गर्न माग


appharu

४ आश्विन २०७९, मंगलवार १८:१३ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाको कालिकापथ सडकको फुटपाथ निर्माणमा ठेकेदारबाट गुणस्रतहीन काम भएको पाइएको छ । सडक निर्माणमा लापरवाहीको गुनासो आएपछि नेकपा एमाले रुपन्देही क्षे नं २ ले चासो र सक्रियता देखाएको छ ।
२०७६ सालमा एमाले बुटवल नगर कमिटीले सडक किनारका अवरोध हटाउन सक्रियता देखाएपछि निर्माण शुरु गरिएको उक्त सडक र फुटपाथ निर्माणमा ठेकेदारले लापर्वाही गरी कमसल सामग्रीको प्रयोग गर्ने गरेको गुनासो बढेपछि नेकपा एमाले क्षेत्रीय कमिटीले चासो देखाएको हो ।
फुटपाथमा प्रयोग गरिएका सामग्री कमसल र निर्माणमा ठेकेदारको लापरवाहीले टायलहरु उप्किएका र भासिने गरेका छन् भने सडकका दाया बायां नालीको बीच बीचमा खुल्ला छाडिएकाले यात्रा गर्न नमिल्ने र दुर्घटनाको जोखिम भएको छ । गुणस्तरहीन कामसंगै सडकको मापदण्ड अनुसार फुटपाथ निर्माण नगरी खण्ड–खण्ड काम गरेर अलपत्र पारिएपछि स्थानीय, लुम्बिनी प्रदेशका पुर्व मन्त्री लिला गिरी र बुटवलकी कार्यवाहक नगर प्रमुख सावित्रादेवी अर्यालले अनुगमन गरी पुन: गुणस्तरीय काम गर्न माग गरेका छन् ।
बुटवलको पुरानो बसपार्क (कृषि उपज केन्द्र) देखि योगिकुटीसम्मको भित्री सडकलाई ८२ फुटको कायम गर्दै नमुना मार्ग बनाउने गरी बुटवल उपमहानगरपालिकाको योजना अनुुसार २०७६ सालमा सडक विस्तार योजना अगाडि बढाइएको थियो । यो सडकको निर्माण कार्य लुम्विनी प्रदेश सरकार मातहतको पुर्वाधार विकास कार्यालयले गरिरहेको छ ।
तीन बर्षमा सम्पन्न गर्नेगरी निर्माण प्रक्रिया अगाडि बढाइएको सडकको होराइजन चोकदेखि दक्षिणतर्फको खण्डमा सडक किनाराको अतिक्रमण हटाइए पनि अझै काम शूरु हुन सकेको छैन । कालिकापथको होराइजन चोकबाट उत्तरतर्फको खण्ड निर्माणका लागि सडक निर्माण कार्य बिरुवा कालिगण्डकी जेभीले १५ करोड ९० लाखमा र सोही खण्डको फुटपाथ तथा नाली निर्माणका लागि एमकेएसके पर्वतिय जेभीले ४ करोड ५६ लाखमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेका थिए । संघीय र प्रदेश सरकारको सहकार्यमा निर्माण भएको सडकको फुटपाथ निर्माणमा चरम लापरवाही भएका कारण त्यसलाई रोक्न तथा सुधार गर्न दवाव दिने उद्देश्यले अनुगमन थालिएको नेकपा एमाले क्षेत्र नं २ का संयोजक बावुराम पन्थीले बताए ।
लुम्विनी प्रदेशसभामा रुपन्देही क्षेत्र नं २ क का निर्वतमान सदस्य समेत रहेका पुर्व मन्त्री लिला गिरीको नेतृत्वमा भएको अनुगमनमा स्थानीयले फुटपाथ निर्माणका क्रममा निर्माण ब्यवसायीलाई आफुहरुले सुधार गर्न आग्रह गर्दा पनि बेवास्ता गरी कमसल सामग्रीको प्रयोग गर्ने गरेको गुनासो गरेका थिए ।
अनुगमनका क्रममा बुटवल उपमहानगर पालिका कार्यबाहक प्रमुख साबित्रादेवी अर्यालले निर्माण ब्यवसायीबाट लापरवाही भएको भएको पाइएकोले मापदण्ड अनुसार काम सम्पन्न गर्न निर्देशन दिइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्