सियारी गाउँपालिकाद्वारा विभिन्न विधाबाट समाजमा योगदान पुर्‍याएका ८ जनालाई सम्मान


appharu

५ आश्विन २०७९, बुधबार १२:१७ मा प्रकाशित

पालिकापत्र, सियारी । रुपन्देहीको सियारी गाउँपालिकाले गाउपालिकामा घर भएर विभिन्न विधाबाट समाजमा योगदान पुर्‍याएका ८ जनालाई सम्मान गरेको छ । संविधान दिवसको अवसर पारेर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार, समाजसेवा र पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ८ जनालाई सम्मान गरेको हो ।

जस अनुसार सामाजिक विधाबाट सियारी–६ का भवानी शंकर सापकोटा, शिक्षा विधाबाट सियारी–२ का डा रामप्रसाद (आर.सी.) आचार्य, सामाजिक तथा शिक्षा विधाबाट सियारी–६ का भरत अर्याल, सामाजिक तथा शिक्षा विधाबाटै सियारी–७ का सुन्दर प्रसाद गुप्ता, महिला विकास विधाबाट सियारी–४ की विना सुवेदी, स्वास्थ्य विधाबाट डा. विष्णु पौडेल, खोज अनुसन्धान तथा स्वास्थ्य सेवाबाटै सियारी–४ का डा. विष्णु मरासिनी र पर्यापर्यटन विधाबाट सियारी–४ का गौरव गौतमलाई सम्मान गरिएको हो । उनीहरुलाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले दोसल्ला र कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

सम्मानपछि बोल्दै प्रदेश प्रमुख शेरचनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा लाग्नै सबै पक्षलाई आग्रह गरे । उनले संविधान निर्दिष्ट गरेका कुरालाई कार्यान्वयन गर्न सके नेपालको आर्थिक, सामाजिक, राजनैतिक तथा साँस्कृतिक पक्षको विकास भइ मुलुकको बृहत्तर विकास हुने बताए ।

संविधानकै कारण तपाई सम्पूर्ण नागरिकले आफ्नै घरदैलोमा सरकार भेटाउन पाउनु भएको छ, यही सरकारले नागरिकका समस्या बुझेर सम्बोधन गर्दै पनि आएको छ प्रदेश प्रमुख शेरचनले भने, ‘लोकतन्त्रको मसिया ठान्ने देशका संविधानले पनि यति राम्रो गरी सम्बोधन गर्न सकेको छैन् ।’

प्रदेश प्रमुख शेरचनले आफ्नो राजनीतिक यात्राका क्रममा कहिल्यै पनि लाभका लागि काम नगरेको उल्लेख गर्दै नागरिकलाई सर्वोपरी ठानेर काम गर्न सबैलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले विभिन्न क्षेत्रबाट सियारीको पहिचानमा टेवा पुर्‍याएका व्यक्तिलाई सम्मान गरिएको बताए । अध्यक्ष घिमिरेले शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक तथा महिलाका क्षेत्रबाट समाजका लागि विशेष योगदान पुर्‍याएका ८ जनालाई सम्मान गरिएको बताउँदै यस कार्यले सियारीको गरिमा बढाउने अपेक्षा लिएको बताए । उनले सियारीको उन्नयनमा टेवा पुर्‍याएका व्यक्तिलाई निरन्तर सम्मान गर्दै जाने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको स्वागत र लेखा अधिकृत नारायण पौडेलको सञ्चालनमा भएको कार्यक्रममा समाजसेवी भवानी शंकर पाण्डे, मेघनाथ शर्मा, बिना सुवेदी, सुर्यनारायण यादव, डा। रामप्रसाद आचार्य, सियारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनपति खरेल, नेकपा एकीकृत समाजवादीका नेता श्रीराम यादव लगायतले बोल्दै सियारीले सामाजिक उत्तरदायित्व अन्तरगत उल्लेखनीय कार्य गर्दै आएको बताए ।

संविधान दिवसको अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना भएका शिक्षक तथा शिक्षिकालाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्