बुटवलमा ठूला योजनाहरु सञ्चालन हुंदै


appharu

१२ आश्विन २०७९, बुधबार १९:१६ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिकामा केही ठूला योजनाहरु सञ्चालनका लागि प्रक्रिया अघि बढेका छन् ।
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति, कृषि बजार केन्द्र स्थापना, सूचना केन्द्र निर्माण, प्रदेशस्तरको बसपार्कजस्ता योजनाहरु प्रक्रियामा अघि बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजनाहरु अघि बढेको र ती योजनाले छिटै मुर्त रुप लिने बताउनुभयो ।
‘हामीले बुटवलका मुख्य समस्या समाधान गर्दै केही ठूला योजनाहरु अघि बढाएका छौं, उहाँले भन्नुभयो–ती योजनाहरुमा बुटवल उपमहानगर, संघ, प्रदेश र अन्य केही दातृनिकायहरुको लगानी हुनेछ, त्यसका लागि हामीले केही योजनाको सम्झौता गरेर अरु प्रक्रिया अघि बढाएका छौं भने केही सम्झौता गर्ने र केही जग्गा प्राप्तिको प्रक्रियामा रहेका छन् ।’
आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने, नयाँ बसपार्कलाई स्थानान्तरण गरी बहुतले पार्किङस्थल निर्माण गर्ने, बुटवल ७ र ८ को धागो कारखाना अगाडिको २५ बिगाहामा बसपार्क निर्माण गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने जस्ता कामले बुटवललाई व्यवस्थित शहरको रुपमा स्थापित गर्ने उहाँले बताउनुभयो ।
उहाँले शिक्षाका क्षेत्रमा आम्दा अस्पतालमा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा सिभिल इन्जिनियरिङतर्फ स्नातक, अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले बुटवल १५ सेमलारमा १९ बिगाहामा कृषि बजार केन्द्र, बुटवल ७ मा गौशाला व्यवस्थापन, वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढेको बताउनुभयो ।
पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै उहाँले बुटवलको मुख्य सडक निर्माणमा भएको अलमल समाधान गरी सडक निर्माणलाई निरन्तरता दिन अगुवाई गरेको, मोतीपुर औद्योगिक क्षेत्रको विवाद समाधान गर्नका लागि जग्गा यकिन गरी औद्योगिक क्षेत्र निर्माणका लागि अगुवाई गरेको बताउनुभयो ।
उहाँले बुटवललाई सफा र सुन्दर बनाउन सरसफाई अभियान सञ्चालन गरेको र डेंगु नियन्त्रणका लागि निरन्तर अभियान सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको बजारलाई व्यवस्थित गर्नका लागि नियमित अनुगमन गरिरहेको र आगामी दिनमा थप कडाइका साथ नियम पालना गराइने बताउनुभयो । उहाँले उपभोक्ताको अधिकार स्थापित गर्दै स्वच्छ र स्वस्थ खाद्यान्न उपलब्ध हुने गरी वातावरण तयार गर्नका लागि बुटवल उपमहानगर लागिपरेको बताउनुभयो । उहाँले न्यायिक समितिले विवादमा मेलमिलाप र सहजीकरण गर्दै आएको बताउनुभयो ।
उपलब्धि तथा प्रयासहरु
 बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गर्ने गरी बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघबीच आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरु सुगानामीको विशेष उपस्थितिमा निर्णय भएको छ ।
 मोतीपूर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्न बुटवल उपमहानगरपालिकाको अगुवाईमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूको उपस्थितिमा गठन भएको कार्यदलले ड्रोनबाट जग्गा नापजाँचको काम सम्पन्न गरेको छ । अब प्राविधिकहरुले तथ्यांक प्रशोधन गरी जग्गा यकिन गरेर प्रतिवेदन बुझाएपछि कार्यपालिका बैठकबाट औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन सिफारिश गरिनेछ ।
 एशिया प्रशान्त क्षेत्रका देशहरुका मेयरहरुको सम्मेलनमा बुटवल उपमहानगरपालिकाको प्रमुखका रुपमा सहभागी भई अन्तरराष्ट्रिय रुपमा सम्पर्क र सहकार्यको वातावरण तयार भएको छ । जसले आगामी दिनमा बुटवलको विकासका लागि अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सजिलो बनाउनेछ ।
 बुटवल–१५ सेमलारमा १९ बिगाहा जग्गामा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्न जग्गा प्राप्तिको लागि प्रक्रिया अघि बढेको छ ।
 बुटवल १२ ट्रान्सपोर्ट सिटी नजिक राष्ट्रिय सूचना केन्द्र निर्माणका लागि १७ कठ्ठा जग्गा सिफारिश सहित आवश्यक प्रक्रिया अघि बढेको छ ।
 ज्योतिनगर पहिरोको अल्पकालीन रोकथाम र नियन्त्रणको काम निरन्तर जारी रहेको छ र स्थायी समाधानका लागि संघ र प्रदेश सरकारसँग छलफल तथा सहकार्य भइरहेको छ ।
 बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनबाट सहमति प्राप्त भएपछि जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
 बुटवल–बेलहिया सडकअन्तरगत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम अलपत्र परेपछि निर्माण कार्यको अनुगमन र सहजीकरण गर्न बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, उद्योग वाणिज्य संघका प्रमुखहरू, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष, निर्माण कम्पनीका सञ्चालक र सडक आयोजनाका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरी निरन्तर छलफल, समन्वय र सहकार्य गरी अस्पताल लाईन क्षेत्रको सडक पक्की भइसकेको र अन्य बाँकी क्षेत्रमा छिटै पक्की गर्ने तयारी रहेको छ ।
 बुटवल बसपार्क, लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र मुख्य राजमार्ग क्षेत्र तथा वडास्तरमा तीनदिने विशेष सरसफाई अभियान शुरु भएको छ ।
 छाडाचौपाया व्यवस्थापन गर्नका लागि बुटवल ७ मा गौशाला व्यवस्थापन गर्न तयारी गरिएको छ ।
 बुटवललाई पर्यटकीय स्थलको रुपमा समेत थप परिचित बनाउनका लागि तिनाउ नदी किनारमा आरती गर्ने कार्यको शुरुवात गरिएको छ । जसलाई व्यवस्थित गर्नका लागि चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकिएको छ ।
 बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया आरम्भ गरिएको छ ।
 आम्दा अस्पतालमा प्रविणता प्रमाण पत्र तहको नर्सिङ अध्ययनका लागि सम्बन्धन तथा आवश्यक शैक्षिक पूर्वाधार तयार गर्न प्रक्रिया अगाडि बढाईएको छ ।
 बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
 अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक बजेटको व्यवस्था गरिएको छ ।
 बुटवल उपमहानगरपालिका, नगर विकास कोष र मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग बहु तले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई अध्ययन कार्य शुरू भएको छ ।
 लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेकाहरू तर बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना प्रकाशित गरी बसोबासको प्रमाणपत्र दिनका लागि तयारी भएको छ ।
 डेंगु रोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरी लामखुट्टेका लार्भा नष्ट गर्ने कार्य र फगिङ गर्ने कार्य निरन्तर सञ्चालन गरिएको छ ।
 तिनाउ नदीकिनारका बस्तीमा बाढीले जोखिम पुर्‍याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गरिएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्य गरिएको छ ।
 न्यायिक समितिद्वारा विवाद निरुपण तथा विवादमा मेलमिलापको कार्य निरन्तर सञ्चालन भइरहेको छ ।
 गृहणी महिला रोजगार कार्यक्रम सञ्चालनको तयारी रहेको छ ।
 बुटवलस्थित बसपार्कमा यात्रु तथा यातायात मजदुरको स्वास्थ्य परीक्षण तथा सहजीकरणका लागि सहायता कक्ष स्थापना गरिएको छ । जसमा हालसम्म करीब १ हजारजनाले सेवा लिइसक्नुभएको छ ।
 इरिक्सा व्यवस्थापनको कार्य शुरु भई १४४० इरिक्सालाई अनुमति दिने भनिएकोमा १२२८ वटा इरिक्सामात्रै अनुमतिका लागि आएको र थप व्यवस्थापनको कार्य जारी छ ।
अन्त्यमा,
बुटवलको उन्नति र प्रगतिका निम्ति सकारात्मक भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण पत्रकार महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद
जय नेपाल
२०७९ असोज १२ गते बुधबार ।

खेलराज पाण्डेय
नगर प्रमुख
बुटवल उपमहानगरपालिका
बुटवल, रुपन्देही ।

प्रतिक्रिया दिनुहोस्