बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय, बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक


appharu

१३ आश्विन २०७९, बिहीबार १९:३० मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ ।
स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो ।
बुटवल उपमहानगरका वडा नं. ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा ५२ जना किसानलाई अनुदान दिने निर्णय गरेको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।
ती वडामा खेतीकिसानी गर्ने किसान, फर्म र संस्थाहरुले पेश गरेको माग अनुसार १० हजारदेखि १ लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
निर्णयअनुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिशका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिनुभयो ।
५२ जना किसान, फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफुल, मकैलगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेका थिए ।
बुटवल उपमहानगरपालिकाले खुल्ला रुपमा सडक किनारमा दुध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दुधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुल्ला रुपमा सडक किनारमा दुधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।
दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दुध र दुधजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेशिन सहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।
यस्तै बैठकले दुधजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दुध बिक्रेता, किसान लगायत दुधको कारोबारमा संलग्न डेरी व्यवसायीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।
रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेश प्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायीहरु कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा, संजोग श्रेष्ठ सदस्य रहनुभएको छ भने सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख रहनुभएको छ ।
बैठकले दुधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताउनुभयो ।
(((((((((((((((((((((((((

प्रतिक्रिया दिनुहोस्