पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध लागुऔषध मुद्दामा अभियोग पत्र दायर


appharu

२५ आश्विन २०७९, मंगलवार १८:५७ मा प्रकाशित

पालिकापत्र, बुटवल । नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध लागु औषध लगायतका मुद्दामा जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । गुप्तामाथि साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले दुई भारतीयलाई योजनाबद्ध रूपमा लागूऔषध मुद्दामा फसाएको आरोपमा अनुसन्धानपछि डेढ महिनाअघि पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीसंगको मिलेमतोमा भारतीयलाई फसाएको विषय प्रहरी अनुसन्धानबाटै खुलेपछि उनी पक्राउ पुर्जी जारी नहुंदैदेखि फरार थिए ।
गुप्तामाथि गाउंपालिका अध्यक्षमा निर्वाचित भएपछि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानवीन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धानमा पनि दर्जन बढी उजुरी परेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कृष्णचन्द्र पाण्डेले गाउंपालिका अध्यक्षविरुद्ध लागु औषध लगायत मुद्दामा अभियोगपत्र दायर भएको बताए ।
माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गुप्ताको योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागु औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । तर प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको,गाउंपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निश्कर्ष निकालेका थिए ।
अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । घटनामा मुछिएका पाण्डे मलेशिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन् ।
स्थानीय धरेन्द्र यादवले घटनाको अनुसन्धान गर्दा जिल्लाको प्रहरी नेतृत्वले गाउंपालिका अध्यक्षलाई जोगाउन खोजेको देखिएकाले आफूहरुले उच्चस्तरीय छानवीनको माग गरेको बताए । १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका भारतीयले बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले उनीहरुलाई लागूऔषध मुद्दामा फसाएको अनुसन्धान प्रतिवेदनले भनेको छ । तीन महिनादेखि थुनामा रहेका भारतीय नागरिक गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले समेत माग गर्दै आएका छन् । प्रहरीको भूमिका दोषीलाई बचाउने र निर्दोषलाई फसाउने देखिएको भन्दै कांग्रेस र जसपाले आन्दोलनको तयारी गरेको जसपा नेता धरेन्द्र यादवले बताए । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्