रुपन्देही–२ का उम्मेदवार गुरुङ र केसीविरुद्ध बैंकिङ कसुरमा कालो सूचिमा रहेको उजुरी


appharu

२५ आश्विन २०७९, मंगलवार २२:२९ मा प्रकाशित

पालिकापत्र,बुटवल । सत्ता गठबन्धनबाट रुपन्देही २ मा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका २ जना विरुद्ध उजुरी दर्ता भएको छ । दुबै जना बिरुद्ध बैंकिङ कसुर अन्तर्गत कालो सूचीमा नाम चढेको भन्दै उम्मेदवारी खारेजीको माग सहितको उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङ र प्रदेशसभा अन्तर्गत रुपन्देही २ (क)बाट उम्मेदवारी दिएका दिर्घबहादुर केसी विरुद्ध कालोसूचीमा नाम चढेको उजुरी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले पुष्टि गरेको छ । गुरुङ अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणमा सामान आपुर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि सिद्धार्थ बैंकले कालो सूचिमा राखेको थियो । अग्रपंक्तिमा देखिदा झलनाथ खनालका छोरा निर्भिक खनाल र राजु गुरुङ देखिए पनि नर्थ वेस्टमा फुर्वा शेर्पा, सुनिल रायमाझी, राजेश मानन्धर, सञ्जिव राई, शक्ति डङ्गोल र गणेश श्रेष्ठले मिलेर काम गरेका थिए ।
दुबै उम्मेदवारलाई उजुरीबारे सूचना गरिएको र समयसीमा भित्र कालोसूचीबाट नाम हटेको प्रमाण ल्याउन नसकेको अवस्थामा उम्मेदवारी खारेज हुने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताए ।
बुधबार ५ बजे सम्ममा उम्मेदवारी रहने वा नरहने विषयमा टुंगो लाग्ने उनले बताए । अर्का उम्मेदवार हेमराज बस्यालका विरुद्ध पनि बैकिङ कसुरकै उजुरी परेको पनि उनले बताए ।
रुपन्देही २ का हामी नेपाली पार्टीका उम्मेदवार डा. निकोलस भुसाल विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामा उम्मेदवार बनेको भन्दै यस अघि नै उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्