घनश्यामले राजनीतिक अपराध गरे : छविलाल

रुपन्देही–१ मा एमाले–राप्रपा–जसपाले बनायो ३१३१ सदस्यीय चुनाव परिचालन कमिटी


appharu

२७ आश्विन २०७९, बिहीबार १७:२४ मा प्रकाशित

पालिकापत्र, देवदह । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पुर्व एमाले नेता घनश्याम भुसालले राजनीतिक अपराध गरेको आरोप लगाएका छन् । नेकपा एमाले,राप्रपा र जसपाले तिलोत्तमामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर २३ सिट भएको पिवक्षी पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर र अदालत धाउनु राजनीतिक अपराध भएको बताए । ‘जनताले ५ वर्ष सरकार चलाउन दिएको आफ्नो पार्टीले पाएको जनमतलाई कुल्चेर २३ सिटमा थन्किएको कांग्रेसलाई सत्ता सुम्पिने काम संसदीय राजनीतिमा अपराध हो’–विश्वकर्माले भने–‘सरकार ५ वर्ष टिक्न नदिएर अस्थिरता ल्याउनेको हिसाब चुनावमा जनताले खोज्नेछन् ।’
रुपन्देही–१ मा सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र वाम उम्मेदवार बनेका आफ्नै प्रतिस्पर्धी भुसाललाई लक्षित गर्दै उनले सत्ता गठबन्धनले उम्मेदवार नपाएको र स्वतन्त्रको दुकान नचल्ने बताए । ‘पार्टीकै हुंदा त मतदाता कार्यकर्ताले फेला पारिएन भन्थे, अहिले त फेद न पुच्छर कहां खोज्ने ?’– विश्वकर्माले भने–‘स्वतन्त्रको दोकान चल्नेवाला छैन, न बिरुवा बन्छ, न फल नै लाग्छ ।’
दलहरुमा कमी कमजोरी भए सुधार्न सकिने तर दलको विकल्प स्वतन्त्र हुनै नसक्ने विश्वकर्माको भनाई छ ।
सत्ता गठबन्धन राष्ट्रियता र जनजिविकाका सवालमा गैर जिम्मेवार भएको र प्रतिपक्षी दलविरुद्ध गठन्धन गरेकाले एमालेले पनि राप्रपा र जसपासंग तालमेल गर्नुपरेको बताए ।
एमाले केन्द्रीय सदस्य शिवराज सुवेदीले घनश्याम भुसालले पार्टीविरुद्ध पटक पटक बेइमानी गरेको आरोप लगाए । टिकट नपाएपछि रातारात पार्टी छाड्नु धोवाज र अवसरवादी भएको भन्दै उनलाई जनताले विश्वास नगर्ने सुवेदीले दावी गरे । ‘घनश्यामजीले पार्टीविरुद्ध तीनपटक बेइमानी गर्नुभएको छ,कहिले माले बनाउनुभयो,कहिले माधव नेपाललाई पार्टी विभाजनमा उक्साउनुभयो अहिले सत्ता गठबन्धनको इशारामा पार्टीलाई धोका दिनुभयो’–सुवेदीले भने ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार एमालेका दधिराम न्यौपाने र राप्रपाका आशिसकुमार चौधरीले रुपन्देही १ को प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै क्षेत्रमा एमाले–राप्रपा–जसपा गठबन्धनले १५देखि २० हजार मतान्तरले जित्ने बताए ।
कार्यक्रममा राप्रपा सहायक महामन्त्री ताहिर खली भाट,प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, एमाले क्षेत्रीय संयोजक बेद गिरी,सचिव युवराज न्यौपाने लगायतले सत्ता गठबन्धनले देशलाई सिक्किमिकरणको बाटोमा लगेकाले एमालेसंग तालमेल गर्नुपरेको बताए । कार्यक्रममा तीन दलले एमाले नेता डा. कृष्ण न्यौपानेको संयोजकत्वमा ३ हजार १ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्