कपिलवस्तु-१ : दुवै असफल जनप्रतिनिधि, अन्यौलमा मतदाता


appharu

२९ आश्विन २०७९, शनिबार १०:०३ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
संघीय संसदको प्रतिनिधि सभाको लागि ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ को चुनावी मैदानमा छन् सत्तासिन गठबन्धनबाट चक्रपाणी खनाल बलदेव र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट बलराम अधिकारी । वाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेको यस क्षेत्रमा मंसिर ४ गतेको निर्वाचनपछि एक जनाले विकासको वागडोर सम्हाल्ने जिम्मा पाउने छन् ।

७४ सालको चुनाव जितेर मन्त्रीसमेत भइसकेका बलदेव अहिले नेकपा माओवादी केन्द्रको सचिवजस्तो शक्तिशाली पदमा छन् भने ७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका बलराम एमालेको केन्द्रिय सदस्य छन् । दुवै नेताले अहिले पाएको राजनैतिक पद उनीहरुको लागि राजनैतिक रुपमा सफल नै होला तर जनताको नजरमा भने अधिकारी र खनाल दुवै असफल र काम नगर्ने नेताको छवि बनाएका नेताका रुपमा चिनिन्छन् ।

अध्ययन भन्छ ‘मंसिर ४ नजिक आएसंगै यी दुवै उम्मेदवारको वाकसमा मत खसाल्न मतदाताहरु त्यति उत्साहित भने देखिदैनन् । मत खसाल्न मन नहुँदा नहुँदै पनि दुईमध्ये एकलाई खसाल्नु पर्ने बाध्यता मतदातासमक्ष छ । किन कि यहाँ स्वतन्त्रबाट पनि राम्रा उम्मेदवार आउन सकेनन् । निर्वाचन आयोगको नियममा ‘राइट टु रिजेक्ट’को व्यवस्था हुन्थ्यो भने बलराम र बलदेव दुवै नेताले भोट पाउँदैनथे’, यहाँका जानकार र बुद्धिजिवीहरु भन्छन् । आखिर किन यस्तो हविगतमा छन् त यी नेताहरु रु शक्ति र पहुँच हुँदा हुँदै पनि जनताको नामका काम गर्न किन असफल रहे ।

सुरुमा बलदेवको कुरा गरौँ

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार तथा जनसेनाका चार डेपुटी कमाण्डर मध्येका एक थिए बलदेव । माओवादीका अन्य तीन डेपुटी कमाण्डर नन्दकिशोर पुन, वर्षमान पुन र जनार्दन शर्माको तुलनामा उनी सत्ता सुखमा पछि परेका थिए । प्रचण्ड नेतृत्वको नौ महिने सरकारमा भने त्यही सुख अभाव पुर्न प्रचण्डले उनलाई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार पद दिए । त्यो नै उनले पाएको लाभको पहिलो पद थियो ।

त्यसपछि २०७४ सालको निर्वाचनमा कपिलवस्तुको क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता दीप कुमार उपाध्यायलाई ९४६ मतान्तरले निर्वाचित भएपछि भने उनी मन्त्री नै बने । २०७४ चैत २ गते दोस्रोपटक बिस्तारित केपी शर्मा ओली नेतृत्वको सरकारले बलदेवलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा नियुक्त गर्यो । खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा चार महिना १६ दिन र कृषि तथा पशुपन्छी विकास मन्त्रीको रुपमा २० महिना चार दिन टिके । यो कार्यकालमा नीति निर्माणमा प्रशस्त काम गरको उनले दावी गरे पनि कपिलवस्तुको जनताको लागि भने केही नगरेको आरोप उनले खेपिरहेका छन् ।

राजनैतिक रुपमा बलदेवले हासिल गरेको पद सफल हो र यस अर्थमा उनी सफल नेता हुन् । पार्टी र नेतृत्वमा उनको राम्रो पकड छ । तर त्यो शक्तिलाई उनले मतदाताको हितको लागि भने प्रयोग गर्न सकेनन् । खनाल नै कृषिमन्त्री भएको बेलामा त्यहाँका किसान मलको चरम अभावले पिल्सिए । भाषणमा ठुला ठुला कुरा गरे पनि बलदेवले देखिने गरी काम नगरेकोमा मतदाता आक्रोशित छन् । दीप कुमार, बलरामबाट आजित भएर केही हुन्छ कि भन्ने आशा गरेर बलदेवलाई जनताले जिताए पनि आशादित काम नहुँदा यसपटक मत नखसाल्ने पक्षमा मतदाता उभिँदै छन् ।

बलदेव मन्त्री हुँदा मलसम्म पनि किसानलाई दिन सकेका भए त्यत्तिले पनि यस पटकको चुनावमा मत खसाल्न मतदाता हिच्किचाउँदैनथे तर त्यत्ति पनि नगरेपछि यसपटक बलदेवलाई भोट किन हाल्ने वाणगंगाका एक मतदाता प्रश्न गर्दछन् रु
आफैले जितेको क्षेत्रमा पूर्वधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, रोजगारी सिर्जना लगायतमा एउटा पनि काम गर्न नसकेको उनीमाथि आरोप छ । त्यसैको कारण उनकै नेता र कार्यकर्ता पनि बलदेवसंग क्रुद्ध छन् ।

त्यति मात्र होइन सांसद र मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा आएर घुम्ने, जनताको समस्या बुझ्नमा पनि कञ्जुस्याई गरेको उनीमाथि नेता कार्यकर्ताको आरोप छ । यही कारण आगामी मंसिर ४ गतेको निर्वाचनमा बलदेवलाई जित्न हम्यहम्य रहेको जानकारहरु बताउँछन् । उसो त बलदेवले भने आफूले गर्न खोज्दा खोज्दै गर्न नसकिएको दावी गर्दछन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अवरोधका कारण त्यति बेला भने अनुसार काम गर्न नसकेको उनी स्विकार गर्दछन् । कपिलवस्तुको विकासमा सबैभन्दा धेरै काम गरेको तर प्रचार नभएको उनको भनाई छ ।

बलदेवको अर्को कमजोरी सांसद र मन्त्री भएपपछि उनले आफ्नो सचिवालयमा आफ्ना मान्छे भर्ने काम गरे । नातावाद र किर्पाबादमा लाग्दा आफ्नो राजनैतिक पाटोमा पनि धमिलोपन आएको उनले हेक्का राख्नै सकेनन् । जसको कारण बलदेव दिनप्रतिदिन स्खलित हुँदै गए । विकासका योजनामा उनका आसेपासे र सल्लाहाकार हावी हुँदा उनले आफ्नो मनले काम गर्न सकेनन् । जानकारका अनुसार बलदेव स्पष्ट र इमान्दार मान्छे भए पनि आसेपासेले उनलाई खुइल्याइदिए ।

बिभिन्न कार्यक्रममा बलदेवले यी सारा कमजोरी स्विकार पनि गर्न खोज्दछन् तर अब उनलाई ढिलाई भइसकेको छ । किनकि बलदेवले भाष्ण गरे, यो गर्छु र उ गर्छ भने तर आफूलाई जिताएर पठाएका जनताको लागि भने देखिने गरी काम गर्न सकेनन् ।
राजनैतिक रुपमा बलदेव अब्बल नेता हुन् । उनी सांसद बनेपछि महत्वपूर्ण मन्त्री बन्नेमा पनि दुईमत छैन । तर जनताले भने मन्त्री बने पनि अब बलदेवले आफ्नो गाउँठाउँको लागि केही गर्छन् भन्ने कुरा विश्वास गर्न छाडिसकेका छन् । बलदेवले आफूमाथि लागेका केही आरोप सत्य भएको र चाहेर पनि केही काम गर्न बाँकी रहेको स्विकार गर्दै आगामी दिनमा गल्ती दोहोर्याउने छुट आफूसंग नभएको बताए ।

बलरामको कुण्डली

उनी एमालेको पूर्व जिल्ला अध्यक्ष हुन् । पार्टी संगठन निर्माणमा उनको ठुलो भूमिका रहेको भए पनि अधिकारीले जनताको लागि भने अहिलेसम्म खासै केही गर्न सकेको देखिँदैन । अधिकारी २०७० सालको संविधान सभा निर्वाचनमा यही क्षेत्रबाट जित हासिल गरेका नेता हुन् । बलदेवजस्तो उनी मन्त्री हुन भने पाएनन् । उनले त्यो समयमा काँग्रेसका दीप कुमार उपाध्यायलाई पराजित गरेका थिए । त्यतिखेर वाणगंगा र बुद्धभूमि नगरपालिकाका सबै वडा यस क्षेत्रमा पर्थे, दक्षिण समेटिएको थिएन । दक्षिणतिरको प्रतिनिधित्व नपाएका बलरामले यसपटक भने दक्षिणतिरका महत्वपूर्ण भागको प्रतिनिधित्व हुने गरी चुनाव लड्दै छन् ।

७० सालमा चुनाव जित्दा अधिकारीलाई आफ्नो क्षेत्र बनाउने ठुलो अवसर थियो । तर ५ बर्षे कार्यकालमा अधिकारीले आफ्नो क्षेत्रमा कुनै देखिने राम्रो काम गर्न नसकेको कारण जनताले नरुचएको नेताको रुपमा चिनिन्छन् । आफ्नो निर्वाचन क्षेत्रलाई कस्तो बनाउने स्पष्ट योजना र दृष्टिकोण अनि विकासको खाका दिन नसक्ने आरोप बलराममा लाग्ने गर्दछ । राजनैतिक चेत राख्ने वाणगंगाका एक पुरुष मतदाता भन्छन् अधिकारी गफ गर्नेमा र गुटमा रमाउन माहिर नेता हुनुहुँदो रहेछ । तर जनताको लागि भने राम्रो काम गरेको एउटा पनि उदाहरण छैन ।

‘बाणगंगा र बुद्धभूमिको विकास हेर्ने हो भने जे–जति भएको छ जनता, उद्योगी ब्यापारीको कारणले भएको छ, नेताको कारण यहाँको विकास हुन सकेको देखिन्न । केही बाटाघाटा बाहेक दुरगामी र गौरवका आयोजना ल्याउन बलराम मात्र होइन न बलदेवले सके न दीप कुमार उपाध्याय न त अत्तहर कमालले नै’, जनताको आरोप छ ।

बलराम लगायत एमालेका धेरै नेताको भाषण सुन्ने र हेर्ने हो भने हुलाकी राजमार्ग आफूहरुले बनाएको दावी गर्दछन् । यो बाहेक शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, खानेपानी, सामाजिक न्याय, शुसासनका सबालमा कुनै पनि काम उनीहरुबट नहुँदा जनता भने रुष्ट छन् ।

तर यो कुरालाई बलराम स्विकार्ने पक्षमा देखिदैनन् । ‘आफू निर्वाचित हुँदा सबैलेभन्दा बढी काम गरेको दावी गरे । उनले भने ‘इतिहासमा अरुले भन्दा राम्रो गरेको म नै हुँ । विकासको सुरुवात मैले गरेको हुँ । अब सिंचाइ, गाउँठाउँमा सडक संजालको विकास र चेतनाको स्तर विकास गरेर धेरै गर्न बाँकी छ । यसपटक चुनाव जितेर यी सारा कुराको विकास गर्छु । विकास के हो देखाउँछु ।’

अर्कोतर्फ पार्टीभित्र पनि केही गुट चलाउने नेताको रुपमा बलराम चिनिन्छिन् । यसै क्षेत्रका बुद्धिजिवी भन्छन् ‘पार्टीभित्र गुटबन्दी गर्ने नेताले कसरी जनताको लागि काम गर्छन् ? केपी शर्मा ओलीको तस्विरलाई बेचेर एमाले कपिलवस्तुका नेताले आफ्नो राजनीति जोगाएका छन् ।’ यहाँका नेताको आफ्नै दम र जनताको लागि काम गर्ने चाहाना छैन, नेताको आरोप छ ।

जिल्लामा बलराम, विमला घिमिरे, डम्बर शर्माको एउटा गुट र विष्णु पन्थी लगायतको अर्को गुट अहिले पनि पार्टी जीवनमा सक्रिय देखिन्छ । त्यही अनुसार नेता र कार्यकर्ता पनि विभिाजित छन् । सोही निर्वाचन क्षेत्रमा प्रदेशमा उठेका नेता विष्णु पन्थी नै कुनै बेला बलराम समुहको गुटगत चरित्रको सिकार हुन पुगेका थिए । एमालेकै एक नेताका अनुसार विमला–बलराम र विष्णुमा ठुलै आन्तरिकद्धन्द्ध थियो । अहिले पनि छ । चुनाव भएकाले अहिले सामसुम भएको छ । कतिखेर बल्झन्छ थाहा छैन ?

पार्टीको केन्द्रीय सदस्यजस्तो नेताले यस्ता समस्या समाधान गर्न नसकी उल्टै गुटमा रमाउने गरेका कारण पनि पार्टीभित्र विश्वासको पूर्ण वातावरण नभएको स्वयम् नेता कार्यकर्ता बताउँछन् ।

अधिकारीले भने आफूले पार्टीलाई एक ढिक्काक नै बनाएर अघि बढेको, गुट सिर्जना नगरेको दावी गर्दछन् । बलराम र बलदेव दुवै नेताले आगामी चुनाव आफ्नो पक्षमा पार्ने दावी गरेका छन् ।

मत कसलाई खसाल्ने रु बुद्धिजिवीको भनाई

बलराम र बलदेव दुवैको आआफ्नो छवि छ । राजनैतिक रुपमा दुवै ठिकठाक होलान, ब्यक्तित्वमाथि कुनै प्रश्न रहेन । तर अब मत खसाल्नै पर्ने अवस्थामा कसलाई खसाल्ने त ?

यस क्षेत्रका बुद्धिजिवीका अनुसार मत खसाल्नै पर्दा बलदेव नै उपयुक्त हुने सुनाउँछन् । नाम नभन्ने शर्तमा एक जनाले भने ‘कपिलवस्तुको लागि चाहिएको विकास हो । विकासको लागि सांसद भएर मात्र हुँदैन । जनताले चुनाव जिताइसकेपछि मन्त्री पनि हुन सक्नु पर्दछ । यस अर्थमा बलरामलाई कमजोर भनिएको होइन तर भोलि मन्त्री बन्नेमा बलदेव शक्तिशालि रहन सक्छन् । उनी प्रचण्डसंग धेरै नजिक छन् । पार्टीको पनि सचिव छन् । यदि गठबन्धनको सरकार आएको खण्डमा बलदेव मन्त्री भएर हिजोको कालो धब्बा मेटाउन सक्छन् ।’ तर यसअघि जनताबाट चुनिएर मन्त्री पनि बनी खासै केही गर्न नसेकेको हुनाले बलदेवमाथि अहिले प्रश्न आएका हुन् । अब केही गर्छन् कि रु’ बलदेवले पनि अब चुनाव जितेमा आफू मन्त्री बनेर हिजोका अधुरा काम पुरा गर्ने बताउँदै चुनावीमा छन् ।

उनी थप्छन् ‘बलराम जि सांसद बन्नुहोला तर मन्त्री बन्नेमा प्रश्न आउँछ । बलराम जिराजनीतिको लागि चाहिने कुशल संगठक हो । पार्टीभित्रको राम्रो मान्छे हो । बलदेव मन्त्री बन्ने ग्यारेन्टी छ तर बलरामको बारेमा भन्न सकिन्न । एमालेले चुनाव जितेको खण्डमा आफू पनि मन्त्री बन्ने बलरामको पनि दावी छ ।

प्रतिक्रिया दिनुहोस्