अर्थमन्त्री हुंदा रुपन्देहीमा ११ अर्ब वजेट पारेका थिए पौडेलले

पुर्व गृहमन्त्री एवं राप्रपाका नेता निरन्जन थापाले विकास र भिजनको अर्को नाम विष्णु पौडेल भएको टिप्पणी गर्दै विकासको गतिलाई अगाडि बढाउन उनको जितको विकल्प नभएको बताउंछन् ।


appharu

२९ आश्विन २०७९, शनिबार २२:४१ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पुुर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ का हेबिवेट उम्मेदवार हुन् ।

विगतमा तीनवटा संसदीय चुनाव लगातार जित्दै अर्थमन्त्री हुँदा रुपन्देहीमा बजेटमार्फत दर्जनौं कार्यक्रम समावेश गरेर ११ अर्ब रुपैयां बजेट पारेकाले उनी मतदातामाझ सबैभन्दा लोकप्रिय रहेको धेरैको विश्लेषण छ ।

रुपन्देहीमा धेरै बजेट पार्न सक्ने र विकासका ठूला आयोजना सञ्चालन गरिरहेकाले पनि पौडेलको उम्मेदवारीलाई धेरैले चासोका साथ हेरेका छन् । उनी अर्थमन्त्री हुँदा ल्याएको बजेट मध्ये रुपन्देहीमा पनि बढीजसो बजेट बुटवल उपमहानगरपालिकामा केन्द्रित छ ।
देउवा सरकार बन्नुअघि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलले बजेटको ठूलो हिस्सा आफ्नो क्षेत्रमा केन्द्रित गरेका थिए । जस्तो, बुटवलसहितका ठूला शहरमा विद्युतको तार भूमिगत, बुटवल धागो कारखाना निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आह्वान गर्ने, बुटवलसहितका सरकारी अस्पतालमा निःसन्तान दम्पतीका लागि आईभीएफ सेवा विस्तार गर्ने, नारायणगढ–बुटवल सडकखण्ड विस्तारलाई तीव्रता दिने, बुटवल–कोहलपुर खण्डको विस्तृत डिजाइन गरी निर्माण थाल्ने, बुटवल मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण थाल्ने आदि । यी सबै आयोजनालाई मूर्तरुप दिनका लागि आफूले उम्मेदवारी दिएको पौडेलले बताउने गरेका छन् ।

अर्थमन्त्री भएका बेला बजेटमै पारेका अरु योजना पनि दीर्घकालीन महत्वका छन् । बुटवल–काठमाडौं दूरी छोट्याउन दुम्कीबास–बर्दघाट सुरुङमार्गको अध्ययन गर्ने, बुटवल–लमही–कोहलपुर–अत्तरिया प्रसारणलाइन खण्ड निर्माणको पूर्व तयारी गर्ने, रुपन्देहीको कर्साघाटमा कृषि उपजको थोक बजार बनाउने, रुपन्देहीकै मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने काम दुई वर्षमा सक्ने, बुटवल–भैरहवा लुम्बिनीसहितका ठूला सहरमा निजी क्षेत्रले ठूला विद्युतीय बस सञ्चालन गरे थप प्रोत्साहन अनुदान दिने पनि पौडेलले बजेटमा उल्लेख गरेका थिए ।
त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकालाई स्मार्ट सिटी बनाउने, सिद्धार्थनगर लगायत शहरीकरण भइरहेका नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जनपार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधार आयोजना कार्यान्वयन गर्ने, रूपन्देहीको बेलहिया नाकामा २ हजार मालवाहक सवारी साधन अट्ने पार्किङ यार्ड बनाउने, भैरहवा र नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण गर्ने, बुटवलको जीतगढी संरक्षण गर्न विस्तृत अध्ययन गर्ने, तिनाउ–दानव नदी नियन्त्रण आयोजना निर्माण गर्न पनि बजेट विनियोजन गरिएको थियो ।
बुटवल–भैरहवासहित नगरपालिकाहरूलाई मेगा सिटीमा विकास गर्ने गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय शहरी योजनाविद्को परामर्श सेवा लिने, भैरहवामा क्रिकेट मैदान र बुटवलका लागि झुम्साखोला खानेपानी आयोजनालाई निरन्तरता दिइने लगायतका विषय पनि बजेटमा परेका थिए । उनले रुपन्देहीमा मात्रै करिव ११ अर्व बजेट आफू अर्थमन्त्री हुँदा पारेका थिए ।
पौडेल हेभिवेट उम्मेदवार रहेको र ठूला आयोजना रुपन्देहीमा ल्याउन सफल भएकाले पनि यस क्षेत्रका धेरै उद्योगी व्यवसायी उनीप्रति सकारात्मक छन् ।
पौडेलले रुपन्देहीमा अहिले सञ्चालित विकास आयोजनाले पूर्णता पाउँदा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, सामाजिक, शिक्षा र पर्यटनको केन्द्र बन्ने स्पष्ट पारे । उनले बुटवलका शिक्षण संस्थाहरू भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकाले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरूलाई आग्रह गरे ।

पुर्व गृहमन्त्री एवं राप्रपाका नेता निरन्जन थापाले विकास र भिजनको अर्को नाम विष्णु पौडेल भएको बताउंछन् । रुपन्देहीमा ठूला विकासका आयोजना ल्याउन सफल भएको भन्दै विकासको गतिलाई अगाडि बढाउन उनले जित्नैपर्ने धारणा राखे । “यस क्षेत्रका विकासका परिकल्पनाकार भनेर पौडेल चिनिएका छन्, त्यसैले पनि उनको जित महत्वपूर्ण छ”–उनी भन्छन् ।
पौडेलले २०७४ सालमा भारी मतका साथ कांग्रेसका उम्मेदवार युवराज गिरीलाई पराजित गरेका थिए । त्यतिखेर पौडेलले ४४ हजार ९ मत ल्याउँदा गिरीले २१ हजार ९४५ मत ल्याएका थिए । दोब्बरभन्दा बढी मतले जितेका पौडेलका लागि यो पटक निर्वाचन जित्न गठबन्धनको सामना गर्नुपर्ने छ । एमालेलाई भने राप्रपा र जसपाको मत थपिने छ ।
नेकपा एमाले रुपन्देही– २ का क्षेत्रीय संयोजक बाबुराम पन्थी यो क्षेत्रमा विष्णु पौडेललाई टक्कर दिने उम्मेदवार नै नभएको बताउँछन् । स्थानीय तह चुनावको मत मात्रै संघीय चुनावमा निर्णायक नहुने पन्थी बताउँछन् ।
पौडेलले आफ्नो क्षेत्र मात्र नभई समग्र रुपन्देही जिल्लाकै पूर्वाधार विकासमा गरेका योगदानले अरू उम्मेदवारभन्दा धेरै बलियो रहेको पन्थीको तर्क छ । एमालेबाट रुपन्देही– २ मा प्रदेशसभातर्फ (१) मा लीला गिरी र (२) मा भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् । गठबन्धनबाट कांग्रेसका दीर्घबहादुर केसी (कुमार) र माओवादीका वामदेव क्षेत्री प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्