बलदेव र डोलकराम भन्छन्ः ‘जनतामा उत्साह छ, हारको कल्पनै छैन’


appharu

४ कार्तिक २०७९, शुक्रबार १०:०० मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु । आगामी मंसिर ४ गतेको चुनावलाई लिएर कपिलवस्तुमा पनि चुनावी गतिविधि तीव्र भएको छ । तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा सबै दल र उम्मेदवारहरुले असोज ३० गते निर्वाचन आयोगबाट निर्वाचन चिन्ह पाएसंगै आ-आफ्नो चुनावी गतिविधि तीव्र बनाएका हुन् ।

बाम-लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका) उम्मेदवारले तीव्रताका साथ घरदैलो गर्ने र मतदातालाई भेट्ने काम गरिरहेका छन् भने चुनावी एकता गरेका नेकपा एमाले र जनता समाजवादी पार्टीले चुनाव जित्ने रणनीतिको रुपमा पनि घरदैलो, सम्पर्क कार्यालय खोल्ने देखि पार्टी प्रवेशको कार्यक्रमलाई जोडतोडका साथ अगाडी बढाइरहेका छन् । चुनावी गतिविधि गरिरहँदा सबैले आ–आफूले चुनाव जित्ने दावी गरिरहेका छन् ।

यसैबीच जिल्लाको सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि तथा प्रदेश सभाका बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सजिलै चुनावी परिणाम आफूहरुको पक्षमा पार्ने बताएका छन् ।

नेकपा माओवादीका सचिव, पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार चक्रपाणी खनाल बलदेवले जनताको घरदैलेमा जाँदा निकै उत्साह देखिएको बताए । गत एक हप्तादेखि निरन्तर चुनावी कार्यक्रममा रहेका वलदेवले मंसिर ४ गतेको निर्वाचनमा मतदाताहरुले देशभर वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउने दावी गरे । उनले भने मेरो निर्वाचन क्षेत्र कपिलवस्तुको जहाँ जहाँ हामी पुगेका छौँ ।

‘जनता उत्साहित देखेका छौँ । संविधान मास्ने एमालेप्रति जनताको उत्साह देखिएन । हामी पनि विगतमा भएका गल्तीहरु सच्च्याउँदै अघि बढ्ने प्रतिवद्धता जनाइरहेका छौँ । जनताले विकास खोजिरहनु भएको पायौँ । विगतमा पनि हाम्रा कमजोरी भए । अब ती गल्ती नदोहोरिने गरी जनतासंग मत मागिरहेका छौँ ।’

बलदेवले जनताको उत्साहलाई देख्दा आफूहरुले हारको कल्पना नै नगरेको बताए । आफूहरुले हारे मुलुकले हार्ने उनले दावी गरेका छन् ।

यता प्रदेश सभा सदस्यतर्फ क्षेत्र नं. १ ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार डोलकराम घिमिरे र ‘ख’ का उम्मेदवार सहसराम यादवले पनि आफूहरुले सजिलै चुनाव जित्ने बताए । एमालेभन्दा गठबन्धनबाट उठेका उम्मेदवार बढी विकासप्रेमी, इमान्दार र परिवर्तनकारी रहेकाले जनताले आफूहरुलाई रोजेको घिमिरेको भनाई छ ।

आजसम्म दक्षिण र उत्तरका धेरै ठाउँमा पुगिसकेको भन्दै जनताले बाम-लोकतान्त्रिक गठबन्धनलाई नै जिताउन तयारी गरिरहेको घिमिरेले बताए । चुनावसम्म गठबन्धनमा यही एकता कायम रहने र त्यसले प्रतिगामी शक्तिलाई बढार्ने उनको दावी छ । प्रदेश सभाका अर्का उम्मेदवार सहसराम यादवले मधेशी जनतालाई नागरिकताविहिन बनाउने एमालेलाई जनताले चिनिसिकेको भन्दै उनीहरु बढारिने दावी गरे । जनजनमा अहिले गठबन्धन रहेको उनको भनाई छ ।

गठबन्धनले चुनाव आफ्नो पक्षमा पार्न कपिलवस्तुमा सम्पर्क कार्यालय खोल्ने, घरदैलो गर्ने र अरु पार्टीका असन्तुष्ट नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कामहरु ग्रिरहेको चुनावी कमाण्डर अतहर कमाल मुसलमानले बताए ।

प्रतिक्रिया दिनुहोस्