राजु गुरुङको उम्मेदवारी खारेज,निकोलसको के होला ? (सर्वोच्चको फैसलासहित )


appharu

४ कार्तिक २०७९, शुक्रबार १८:११ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय सदर गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । रिटमाथिको पहिलो सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने ठहर गरेको छ ।
दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो ।
सर्वोच्चको यो फैसलासंगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ । यहां नेकपा एमालेबाट पार्टी उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन् । यसअघि निर्वाचन अधिकृतको कार्यालयले निकोलस भनिने कमल भुसालको उम्मेदवारी पनि खारेज गरेको थियो । उनी पनि सर्वोच्च गएका छन् । उनको मुद्दामाथि सुनुवाईका लागि सर्वोच्चले कार्तिक १५ गते दुबै पक्षलाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्