आज काग तिहार र धन्वन्तरी जयन्ती मनाइंदै


appharu

६ कार्तिक २०७९, आईतवार ०७:३८ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार र धन्वन्तरी जन्म जयन्ती मनाइंदै छ । काग तिहार अन्तर्गत कागलाई विभिन्न परिकार खान दिई आइतबार कागको पूजा गरिँदैछ।

सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ।

कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।

कागतिहार आइतबार भए पनि यमपञ्चक शनिबार अपराह्न नै सुरु भएको थियो। त्रयोदशीमै गरिने यमदीपदानको विधि शनिबार साँझमा गरिएको छ।

आइतबार २७ घडी १८ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ। त्यसपछि चतुर्दशी लाग्छ।
यस्तै कार्तिक कृष्ण चतुर्दशी पारेर सोमबाकार्तिक कृष्ण त्रयोदशी अर्थात् आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती। उनकै जन्मदिन पारेर नेपाल र भारतमा यो दिन आरोग्य दिवस मनाइन्छ।

धनवन्तरिको उत्पत्तिबारे पुराणमा यस्तो सन्दर्भ छ, देवता र दानव मिलेर समुन्द्र मन्थन गरे। यस क्रममा विभिन्न बहुमूल्य वस्तु उत्पत्ति भयो।

धनधान्यकी देवी लक्ष्मी निस्किन्। हातमा अमृतको घडा लिएर धनवन्तरि निस्किए। उनले बोकेको घडाको अमृत सेवनपछि देवता अमर भए।

शल्यशास्त्रमा निपुणलाई धनवन्तरि भनिन्छ। चेला अश्विनीकुमारमार्फत धनवन्तरिले आयुर्वेद विद्या फैलाएको बताइन्छ। कतै कतै धनवन्तरिलाई भगवान् विष्णुकै अवतार पनि मानिएको छ।

नेपालमा सन् १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि धन्वन्तरि जयन्ती मनाउन थालिएको हो। आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ।

सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद क्याम्पस , जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलगायतले विभिन्न कार्यक्रम गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्