तिलोत्तमा ८, ९ र १७ मा एमाले–राप्रपा–जसपा गठबन्धनको प्रचार कार्यालय उद्घाटन


appharu

७ कार्तिक २०७९, सोमबार १९:०२ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । नेकपा एमालेका केन्द्रिय सचिव तथा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धनमा रहेका दलहरुलाई देश बनाउनेमा ध्यान नभएको बताउनुभएको छ ।

सत्तामा रहेका दलहरुको ध्यान कसरी भागबण्डा गरेर बांडीचुंडी खाने भन्नेमा मात्रै रहेको नेता विश्वकर्माले बताउनुभयो । देश बनाउन र राष्ट्रियता जोगाउन एमाले–राप्रपा– जसपाको गठबन्धनको जित अपरिहार्य रहेको उहांको भनाइ छ ।

घनश्याम भुसाललाई इंगित गर्दै उहाले एक पटक टिकट नपाउंदैमा पार्टी छाडेर विपक्षीको गोटी बन्न गएका व्यक्तिले स्वतन्त्रको नाममा भ्रम छर्ने गरेको भन्दै त्यस्ताबाट सचेत हुंदा पार्टीको सरकार ढाल्ने तत्वलाई चुनावमा सजाय दिनुपर्ने उहाले बताउनुभयो । नेकपा एमाले ,राप्रपा र जसपाको तिलोत्तमा ९ को निर्वाचन प्रचार प्रसार कार्यालय उद्धघाटन कार्यक्रमलाई संबोधन गर्दै विश्वकर्माले महंगी चुलिएको , डेंगिले देश आक्रान्त भईरहेको अवस्थामा पनि गठबन्धनको सरकारले कुनै चासो नदिएको भन्दै यस्तो गैर जिम्मेवार सरकारको भण्डाफोर गर्न निर्देशन दिनुभयो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा क्षेत्र नं १ ख का प्रदेश सभा सदस्य उम्मेदबार दधिराम न्यौपानेले रुपन्देही १ को प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै क्षेत्रमा आफूरुको मत विपक्षीको भन्दा १० हजार भन्दा धेरै भएकाले फराकिलो अन्तरले जित हुने भन्दै उत्साहित भएर मतदातालाई प्रशिक्षण दिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राप्रपाका केन्द्रिय सहमहामन्त्री ताहिर अलीले मुलुकमा भएका धेरै विकासका काम नेकपा एमालेका पालामा भएकाले भन्दै त्यसको प्रचार प्रसार गर्न आग्रह गर्नुभयो ।

यसैबिच तिलोत्तमा १७ र तिलोत्तमा ८ मा पनि निर्वाचन प्रचार प्रसार कार्यालय उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ८ भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले रुपन्देही सचिव यज्ञ गैरेले घनश्याम भुसालले यस भन्दा अघि रुपन्देही ३ मा कती काम गर्नु भएको थियो बुझन आग्रह गर्नु भयो ।

जिम्मेवार ठाउंमा बसेर सधै पार्टीको विरुद्ध बोल्ने, आफ्नो क्षेत्रमा काम नगर्ने अनि टिकट नपाएपछि पार्टी छाडेर विपक्षीको शरणमा जानेलाई जनताले राम्ररी चिन्नुपर्ने गेरेले आग्रह गर्नुभयो । कार्यक्रममा राप्रपा रुपन्देहीका जिल्ला सदस्य रुक्मागत पान्डेले राष्ट्रियता जोगाउन एमाले नेतृत्वको गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्