आज गाई तिहार र खण्डग्रास सूर्यग्रहण


appharu

25 October, 2022 6:55 am मा प्रकाशित

पालिकापत्र, काठमाडौं । हिन्दु धर्मावलम्वीहरुले यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदैछन् । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वास रहेको छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने मान्यता छ ।

आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ।

आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ । आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ ।

आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । 

दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए । 

उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका  साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ ।  
 

प्रतिक्रिया दिनुहोस्