सुपर लघुवित्तको बद्मासी : नक्कली ऋणी खडा गरेर २३ करोड हिनामिना


appharu

८ कार्तिक २०७९, मंगलवार ०८:५८ मा प्रकाशित

टोपराज शर्मा, बुटवल । दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुबित्त बित्तीय संस्थाका सञ्चालकले नक्कली ऋणी खडा गरी २३ करोड रकम हिनामिना गरेको पुष्टि भएको छ । लघु वित्तका सञ्चालक समितिका अध्यक्ष किरण चौधरीको प्रत्यक्ष सहभागितामा सर्वसाधारणको रकम अनियमितता भएको ठहर भएपछि नेपाल राष्ट्र बैंकले सुपर लघुबित्त बित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

लघुबित्तलाई राष्ट्र बैंकको लघुबित्त संस्था सुपरीवेक्षण विभागले स्थलगत निरीक्षणपश्चात समस्याग्रस्त घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले २०७८ चैत २ गते सोधेको स्पष्टीकरणमा समेत चित्तबुझ्दो जवाफ नपाएपछि लघुबित्तलाई समस्याग्रस्त घोषणा गरेको छ । लघुबित्त बित्तीय संस्थाले भएको कारोवारलाई स्पष्ट पार्न नसकेपछि २३ करोड अनियमितता भएको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी नियमावली २०७४ अनुसार कारवाही गरी सुपर वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्राप्त भएको स्पष्टीकरण सन्तोषजनक नभएपछि नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सुपर लघुबित्त बित्तीय संस्थालाई राष्ट्र बैंक ऐनको ८६ ख बमोजिम समस्याग्रस्त बित्तीय संस्था घोषणा गरिएको हो । लघुबित्तका सञ्चालक समितिका अध्यक्ष किरण चौधरीको प्रत्यक्ष सहभागितामा रकम अनियमितता भएको राष्ट्र बैंकले जनाएको छ ।

लघुबित्तको २३ करोड रकम अनियमितताको शंकापछि राष्ट्र बैंकले कारवाही प्रक्रिया अघि बढाएको छ । बैंक तथा बित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले नै नियमन तथा अनुगमन गर्ने अधिकार रहेको छ । वार्षिकरुपमा अडिट गर्ने अधिकारसमेत राष्ट्र बैंकलाई छ । बैंकले सुपर लघुबित्तको अडिट गर्ने क्रममा २३ करोड ऋण प्रवाहमा शंकास्पद देखिएको जनाएको छ । राष्ट्र बैंकको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक दामु पुनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको आग्रहमा जिल्ला प्रहरी कार्यालय दाङले लघुबित्तका कायम मुकायम कार्यकारी अधिकृत बुद्धिराम चौधरी, तुलसीपुर शाखा प्रमुख सञ्जीव चौधरी र बिजौरी शाखा प्रमुख यशोदा थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । तीनजनालाई जिल्ला प्रहरी कार्यालय दाङले २०७९ जेठ २६ गते पक्राउ गरेर साउन १३ गते धरौटी लिएर छोडेको थियो । उनीहरुबिरुद्ध बैंकिङ कसुरअन्तर्गत उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको थियो ।

नक्कली ऋणीमार्फत् २३ करोड हिनामिना भएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

लघुबित्तले हाल समूहमार्फत् ऋण तथा बचत संकलन गरिरहेको छ भने ऋण प्रवाह बन्द गरेको छ । नेपाल राष्ट्र बैंकले लघुबित्तलाई ऋण लगानी नगर्न निर्देशन दिएपछि लगानीलाई रोक्का गरेको छ ।

दाङको तुलसीपुरबाट २०५९ सालदेखि कारोबार शुरु गरेको सुपर लघुबित्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको भन्दै प्रमुख चौधरीले राष्ट्र बैंकको निर्देशन अनुसार आगामी दिनमा काम गर्ने बताए । लघुबित्तले प्रभु बैंक, साइन रेसुंगा डेभलममेन्ट बैंक, सांग्रिला डेभलममेन्ट बैंक र आरएसडिसी मार्फत् ऋण लिएर ऋण प्रवाह गरिरहेको छ । लघुबित्तले सबैभन्दा धेरै प्रभु बैंकबाट ऋण लिएको चौधरीले बताए ।

लघुबित्त समस्याग्रस्त घोषणा भएपछि लगानीकर्ता र समूहका सदस्यहरु लगानी डुब्ने हो कि भन्ने चिन्तामा छन् । तर प्रमुख कार्यकारी अधिकृत चौधरीले सर्वसाधारणको रकम डुब्न नदिने दावी गरे । ‘हामी सर्वसाधारणको रकम डुब्न दिदैनौं,समस्या समाधानमा लागिरहेका छौं ।’

लघुबित्तले चारवटा जिल्लामा कारोबार गरिरहेको छ । लघुबित्तका कायम मुकायम कार्यकारी अधिकृत बुद्धिराम चौधरीले दाङ, बाँके, बर्दिया र कपिलवस्तुका २४ शाखाको माध्यमबाट १६ हजार सदस्यलाई लघुबित्तमा जोडेको चौधरीले बताए । लघुबित्तले साढे ५८ करोड ऋण प्रवाह गरेको प्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्