२६ वाणिज्य बैंक : पहिलो त्रैमासिकमा १४ वटाको नाफा बढ्यो, १२ वटाको घट्यो


appharu

९ कार्तिक २०७९, बुधबार १४:०९ मा प्रकाशित

टोपराज शर्मा
बुटवल । नेपालका २६ वटा वाणिज्य बैंकहरु मध्ये १४ वटाले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैसासको तुलनामा नाफा बढाएका छन् भने १२ वटाको घटेको छ । बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७९–०८० को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकहरुको नाफा औसतमा ५.८८ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६ वटा बैंकले एक अर्ब भन्दा बढी नाफा कमाएका छन् । जसमा एनआईसी एशिया बैंकले ४८.७९ प्रतिशतले नाफा बढाएर सबैभन्दा धेरै १ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तैै राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६७ लाख रुपैयाँ,ग्लोबल आईएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ६ लाख र कुमारी बैंकले १ अर्ब १५ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

यी ६ बैंक मध्ये प्रतिशतका हिसाबले गत आबको प्रथम त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा सबैभन्दा धेरै नाफा बढाउने बैंक कुमारी हो । उसले ८५.०७ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
यस्तै अन्य ८ वटा बैंकहरुको नाफा पनि बढेको छ तर उनीहरुको नाफा पहिलो त्रैमासमा एक अर्ब भन्दा कम छ । एक अर्ब भन्दा कम नाफा कमाउने बैंकहरुमा एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, नेपाल एबिआइ बैंक, हिमालयन बैंक, सिभिल बैंक, सेञ्चुरी कर्मसियल बैंक, बैंक अफ काठमाडौं रहेका छन् ।

कुन कुन बैंकको घट्यो नाफा ?
नाफा घट्ने बैंकहरुमा एनएमबी, प्राइम कमर्सियल, सानिमा,एनसीसी,मेगा,लक्ष्मी,सिटिजन्स,सिद्धार्थ,माछापुच्छ«े,कृषि विकास बैंक र सनराइज बैंक रहेका छन् । एनएमबीले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ४ करोड ४४ लाख नाफा कमाएको चालु आबको सोही अवधिमा नाफा १३.४३ प्रतिशतले घटेर ९० करोड ४१ लाखमा झरेको छ ।

प्राइम कमर्सियल बैंकको नाफा १०.६१ प्रतिशत, नेपाल बैंकको १ ९.९७ प्रतिशत, सानिमा बैंकको ३.४६ प्रतिशत एनसीसी बैंकको ०.२४ प्रतिशत, मेगा बैंकको ४४.३३ प्रतिशत, लक्ष्मी बैंकको ८.९३ प्रतिशत, सिटिजन्स बैंकको २७.०९ प्रतिशत, सिद्धार्थ बैंकको ४७.४८ प्रतिशत, माछापुच्छ्रे बैंकको १९.६५ प्रतिशतले नाफा घटेको छ । त्यस्तै कृषि विकास बैंकको नाफा ५४.४८ प्रतिशतले र सनराइज बैंकको नाफा सबैभन्दा धेरै ६१.५० प्रतिशतले घटेको छ ।
सनराइज बैंकको नाफा १६ करोड ५८ लाख र कृषि विकास बैंकको २२ करोड १० लाख रुपैयाँ मात्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्