आज भाइटिका : ११ बजेर ३७ मिनेट उत्तम साइत


appharu

१० कार्तिक २०७९, बिहीबार ०६:३० मा प्रकाशित

पालिकापत्र, काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज यमपञ्चकको पाँचौँ दिन भाइटीका हो । । आज बिहीबार भ्रातृ द्वितीया अर्थात् दिदीबहिनीले दाजुभाइलाई टिका लगाइदिएर आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै मनाउने गर्दछन् ।

पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ। दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन्।

दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्री प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिए। टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला अदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ।

भाइटीकाको टीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। भाइटीका मध्याह्नकालमा गरिने विधानअनुसार यो साइत निकालिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्