चार वटा बाणिज्य बैंक मर्जर प्रकृयामा


appharu

१० कार्तिक २०७९, बिहीबार ०८:५२ मा प्रकाशित

टोपराज शर्मा
१० कात्तिक,बुटवल । नेपालका ४ बाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुंदैछन् भने नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंक पनि मर्ज हुने प्रकृयामा छन् । यी चार बैंक मर्ज भएर दुई वटा हुंदा नेपालमा रहेका २६ वटा बाणिज्य बैंकको संख्या घटेर २४ वटामा झर्नेछ ।

यसअघि नेपालको बैंकिङ यतिहासमै सबैभन्दा ठूलो मर्जर मानिएको ग्लोबल आइएएमई बैंक र जनता बैंकबीच मर्ज भएर ग्लोबल आईएमई बैंक भएको छ । उक्त मर्जरपछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब पुगेको थियो । त्यस्तै बैकको शाखा सञ्जाल ३ सयभन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी पुगेका छन् । उक्त बिग मर्जरपछि यी चार बैंकबीच मर्जर हुन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बैंकर एशोसिएसन लुम्बिनी च्याप्टर अध्यक्ष नविन विष्ट बैंकहरु मर्जर हुनुलाई सकारात्मकरुपमा लिनुपर्ने बताउंछन् । मर्जरले बैंकको पुंजी बृद्धि तथा सञ्चालन खर्च घट्न गई कर्जा लगानी र प्रतिस्पर्धी क्षमता बढ्ने बताउंछन् । मर्जरपछि बैंकको नाफामा पनि बृद्धि हुने भएकाले लगानीकर्ता पनि सन्तुष्ट हुने उनको तर्क छ ।

यसअघिका गभर्नर डा. चिरन्जिवी नेपालले बैंकहरुलाई मर्जरमा जान प्रेरित गरेका थिए । उनको पालामा आएको मौद्रिक नीतिमा राष्ट्र बैंकले ठूला बैंकहरुलाई गाभ्ने (विग मर्जर) को नीतिसमेत अवलम्बन गरेको थियो ।
राष्ट्र बैंकले केही वर्ष पहिले पुँजी वृद्धिको योजना ल्याएर बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने रणनीति बनाएको थियो । तत्कालिन समयमा २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेका ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई ४ गुणा पुँजी पु¥याउन उसले निर्देशन दिएको थियो । तर ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका र व्यवस्थापन पनि विदेशीले नै गरिरहेका बैंकहरु मर्जरका लागि बाध्य हुन नपर्ने प्रावधान छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले स्टाण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकमा बहुमत सेयर विदेशी भएका कारण मर्जर नीति लागू हुन नसक्ने बताए ।

उता ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेका राष्ट्रिय स्तरका विकास बैंकहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पु¥याउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंकले यति ठूलो परिमाणमा पुँजी बढाउन निर्देशन दिनुको मूख्य कारण बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनु नै थियो । ‘ख’ र ‘ग’ वर्गका संस्थाहरुको संख्या यो सुत्रले राम्रै घटाए पनि वाणिज्य बैंकहरुको संख्या धेरै घट्न सकेन । यद्यपि २८ वटा वाणिज्य बैंकहरुको संख्या घटेर अहिले २६ मा झरेको छ ।

मर्जरमा जान लागेका बैंकको यस्तो छ वित्तिय विवरण :

एक आपसमा मर्ज हुने प्रक्रियामा रहेका एनसीसी बैंक र कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्।

विवरण अनुसार कुमारी बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ भने एनसीसी बैंकको थोरै घटेको छ।

समीक्षा अवधिमा कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढेको छ। बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

त्यसैगरी, एनसीसी बैंकको खुद नाफा समीक्षा अवधिमा ०.२४ प्रतिशत घटेको छ। बैंकको खुद ब्याज आम्दानी २०.३१ प्रतिशत र कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेको छ। जसले गर्दा बैंकको खुद नाफामा केही दबाब पुगेको हो।

नाफा घटेपनि एनसीसी बैंकको वितरण योग्य मुनाफा भने कुमारी बैंकको भन्दा धेरै रहेको छ। असोज मसान्तसम्ममा एनसीसीको यस्तो मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ भने कुमारीको २६ करोड ४६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा एनसीसीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर १८ रुपैयाँ ५६ पैसामा झरेको छ भने कुमारीको ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एनसीसीको जगेडा कोष ९.४० प्रतिशत बढेको छ भने निक्षेप ५.६१ प्रतिशत र कर्जा ६.१९ प्रतिशत घटेको छ। त्यसैगरी, कुमारीको जगेडा कोष समीक्षा अवधिमा १५.४४ प्रतिशत र कर्जा २।१४ प्रतिशत बढेको छ भने निक्षेप १.५८ प्रतिशत घटेको छ।
यस्तै इन्भेष्टमेन्ट बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने मेगा बैंकको घटेको छ।

समीक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकको नाफा २३.४७ प्रतिशत बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत, कुल सञ्चालन आम्दानी ३१.८७ प्रतिशत र सञ्चालन मुनाफा २३.४७ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

त्यसैगरी, मेगा बैंकको खुद नाफा समीक्षा अवधिमा ४४.३३ प्रतिशत घटेको छ। बैंकको खुद ब्याज आम्दानी १८.६० प्रतिशत र कुल सञ्चालन आम्दानी ७.५६ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ४५.९९ प्रतिशत घटेको छ। जसले गर्दा बैंकको खुद नाफा घट्न दबाब पुगेको हो।

असोज मसान्तसम्ममा मेगाको वितरणयोग्य मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने इन्भेष्टमेन्टको १ अर्ब ८० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा मेगाको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा घटेर ११ रुपैयाँ ६३ पैसामा झरेको छ भने इन्भेष्टमेन्टको २ रुपैयाँ १९ पैसा बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मेगाको जगेडा कोष ६.७९ प्रतिशत बढेको छ भने निक्षेप १.१० प्रतिशत र कर्जा २.९९ प्रतिशत बढेको छ। त्यसैगरी, इन्भेष्टमेन्टको जगेडा कोष समीक्षा अवधिमा ५.८६ प्रतिशत, निक्षेप ४.०६ प्रतिशत र कर्जा ७.०७ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्