रुपन्देही–३ मा सत्ता गठबन्धन हार्छ : पुर्व गृहमन्त्री थापा


appharu

१२ कार्तिक २०७९, शनिबार २०:०२ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । पूर्व गृहमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता निरञ्जन थापाले दीपक बोहरालाई उम्मेदवार बनाएर विगतमा कांग्रेसले नै मत मागेको भन्दै अहिले नानाथरि आरोप लगाउनु अराजनीतिक भएको बताएका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सिद्धार्थनगर–९ मा प्रचार कार्यालयको उद्घाटन गर्दै थापाले राजनीतिमा कोही स्थायी शत्रु नहुने भन्दै विगत नभुल्न कांग्रेसलाई आग्रह गरे ।
‘हिजो दीपक बोहराका लागि भोट मागेको कांग्रेसले आज नानाथरी आरोप लगाउंदै छ’–थापाले भने–‘अरुलाई अरोप लगाएर हैन, आफ्ना एजेण्डा जनतामाझ लैजाने हो ।’
रुपन्देही ३ मा राप्रपा–एमाले–जसपा गठबन्धन स्थानीय तहको मतका आधारमा सत्ता गठबन्धन भन्दा कम्तीमा १० हजार मतले अगाडि रहेको भन्दै धांधलिरहित चुनाव भए सत्ता गठबन्धन पराजित हुने ठोकुवा गरे । ‘रुपन्देही–३ मात्र होइन,जिल्लाका ५ वटै प्रतिनिधि सभा क्षेत्र जित्छौं’–थापाले भने–‘चुनावमा सत्ताको दुरुपयोग रोक्न भने पर्छ ।’
निर्वाचन आयोगले बारम्बार सतारुढ दलका नेताहरुलाई स्पष्टीकरण सोधिरहेकोले सरकारले निष्पक्ष निर्वाचन गराउँछ भन्ने कुरामा शंका उत्पन्न भएको नेता थापाको भनाइ छ ।
सत्ता गठबन्धनबाट राष्ट्रियता कमजोर भएको,विदेशी हस्तक्षेप बढेको र महंगीले सीमा नाघेको भन्दै थापाले राष्ट्रवादी शक्तिको जित आवश्यक भएको तर्क गरे । ‘सरकारको गलत नीति र ठूला घरानासंगको मिलेमतोका कारण महंगीले सीमा नाघेको छ, उद्योग धन्दाहरु धमाधम बन्द भएका छन्’–उनले भने–‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरु कटौती हुंदै गएका छन् तर गृहमन्त्रीले दिनहुं विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिंड्नुभएको छ । ’
जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले वर्तमान सरकारले बैंक ब्याजदर ,पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा सबै क्षेत्रमा महंगी बढेको बताए ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य डासुराम पाण्डेले एमाले नेतृत्वको गठबन्धनबाट मात्रै देशले सही निकास पाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्