अव्यवस्थित र सुकुम्बासीलाई लालपुर्जा प्राथमिकता : छविलाल


appharu

१३ कार्तिक २०७९, आईतवार १७:१२ मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउंदै लालपुर्जा वितरण एमालेको प्राथमिकतामा रहेको बताएका छन् । आइतबार तिलोत्तमा १२ बर्मेलीटोल र मोहनाजोतमा निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै एमाले नेता विश्वकर्माले केपी ओली नेतृत्वको एमाले सरकारले सबै प्रकृया पुरा गरेर जग्गा नापजांच गर्ने बेला सरकार ढलेको र पांच दलीय गठबन्धनले भूमि आयोग नै खारेज गरेर लालपुर्जाबाट बञ्चित गरेको स्पष्ट पारे ।
एमाले सचिव समेत रहेका नेता विश्वकर्माले गठबन्धन सरकारले २ सय गुणा बढी राजस्व कायम गरेर अव्यवस्थित बसोबासीलाई लालपुर्जा लिनै नसक्ने बनाएको बताउंदै जनतालाई जग्गाको मालिक बनाउन एमालेको सरकार चाहिने बताए ।
वर्तमान सरकारको बेवास्ताका कारण अलपत्र परेको रोहिणी जलाशययुक्त आयोजनालाई पूरा गरेर पर्यटन विकास र रोजगारी सिर्जना गर्न एमाले राप्रपा र जसपाको गठबन्धनको जित आवश्यक भएको नेता विश्वकर्माले बताए ।
रुपन्देही १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले सडक, सिंचाई लगायतका अधुरा योजना पूरा गर्न मतदाताको आग्रहमा आफू उम्मेदवार बनेको बताए । नेता न्यौपानेले रुपन्देही १ को प्रतिनिधि सभा र २ वटै प्रदेश सभा क्षेत्रमा एमाले नेतृत्वका गठबन्धन १० हजार भन्दा धेरै मतले अगाडि रहेकाले जित सुनिश्चित भएकाले उत्साहित भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।
एमाले केन्द्रीय सदस्य शिव सुवेदीले मुलुकलाई सही नेतृत्व गर्न एमाले वाहेक अरु कसैले नसक्ने भएकाले अन्य दलबाट एमाले प्रवेश गर्ने लहर चलेकाले एमालेले अप्रत्याशित नतिजा ल्याउने बताए । सोही अवसरमा वडा नंं १२ मा हरि गौतमको संयोजकत्वमा ३ वटै पार्टीबाट २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
यसैबीच रुपन्देही १(२) मा आइतबारै पेशागत तथा बुद्धिजिवीहरुको भेला सम्पन्न भएको छ । भेलामा सहभागी बुद्धिजिवी र पेशाकर्मीहरुले राष्ट्रियताको रक्षा, मुलुकको विकास र समृद्धिका लागि एमाले नेतृत्वको गठबन्धनको जित अपरिहार्य भएकाले जनमत सिर्जनामा लाग्ने निर्णय गरेका छन् । भेलामा १(१) का प्रदेश सभा सदस्य उम्मेदवार आशिषकुमार चौधरीले पनि आफ्ना भनाई राखेका थिए ।
एमाले नेतृत्वको गठबन्धनले रुपन्देही १ मा कात्तिक १४ गतेबाट घरदैलो र मतदाता संवाद कार्यक्रम सञ्चालन गर्ने निर्वाचलन परिचालन कमिटी सचिव सुरेन्द्र श्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्