पालिकापत्र,गैडहवा । नेकपा एमालेका नेता एवं राष्ट्रिय सभाका निवर्तमान सदस्य खिमलाल भट्टराईले रुपन्देही–५ मा एमालेभित्र कुनै विवाद र समस्या नभएको स्पष्ट पारेका छन् । उनले टिकट वितरणका क्रममा पार्टी केन्द्रबाट भएको त्रुटिका कारण शुरुका एक दुई दिन विवाद भए जस्तो भ्रम सिर्जना भएपनि त्यो समाप्त भएको बताए । आफू केही दिन विरामी भएका कारण पनि पार्टीभित्र र बाहिर एमाले एकढिक्का छैन कि भन्ने भ्रम पर्न गएको भन्दै भट्टराईले कुनै भ्रम नराखी एमाले उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा महिला तथा युवाहरुसँग भएको अन्तरक्रियामा भट्टराईले आफू निर्वाचन परिचालन कमिटीको संयोजक भएकाले बासुदेव घिमिरे,भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई जिताएर देखाउने बताए । क्षेत्र नं ५ मा एमाले,राप्रपा र जसपा गठबन्धनको मत विपक्षीको भन्दा धेरै रहेकाले जितमा शंका नगरी उत्साहित भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
‘क्षेत्र नं. ५ मा एमाले, जसपा र राप्रपाका साझा उम्मेदवारको जीत सुनिश्चित छ’–भट्टराईले भने–‘ पार्टीका एजेण्डा मतदाताको घर—घरमा लगेर बुझाउन अगुवा कार्यकर्ता लाग्नुपर्छ, मंसिर ४ पछि क्षेत्र नं.५ मा विकासको नयाँ लहर आउंछ । ’
यस्तै प्रतिनिधिसभाका उम्मेदवार बासुदेव घिमिरेले लुम्बिनी र आसपासका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासले समग्र प्रदेशकैं विकासमा टेवा पुर्याउने बताउँदै यस क्षेत्रका जनताको आर्थिक, सामाजिक रुपान्तरणको लागि आफू सधैं प्रतिबद्ध रहने बताउनुभयो । नगर प्रमुख हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं नमूना नगरपालिका बनाउनु भएका उम्मेदवार घिमिरेले आफ्नो विगतको अनुभवको आधारमा क्षेत्र नं. ५ लाई समेत नमूना बनाउने बताउनुभयो ।
क्षेत्र नं. ५ मा विकासका थुप्रैं सम्भावना रहे पनि विगतमा सोअनुसारका काम हुन नसकेको बताउँदै उहाँले यहाँका तमाम समस्या समाधानका लागि आफूले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भुमिश्वर ढकाल र रामचन्द्र यादवलगायतका नेताहरुले क्षेत्र नं. ५ को आमूल विकासका लागि आफूहरुलाई मत दिन मतदाताहरुलाई आग्रह गरेका थिए ।