भारतीयलाई नागरिकता दिने एकीकृत समाजवादीका नेता पक्राउ


appharu

१७ कार्तिक २०७९, बिहीबार ०७:२१ मा प्रकाशित

पालिकापत्र,मायादेवी । भारतीय नागरिकलाई नेपाली नागरिक सिफारिस गरी नागरिकता बनाई दिएका कपिलवस्तुका एक पुर्व वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ का पुर्व वडाअध्यक्ष फते मोहम्मद मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय नागरिक मोहम्मद अमिर फकिरले २०७८ माघ १२ गते जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरा स्थायी ठेगाना राखी नेपाली नागरिकता लिएका थिए । उनलाई नागरिकता दिलाउन तत्कालीन वडाअध्यक्ष फते मोहम्मद मुसलमानले सिफारिस गरेका थिए । नागरिकता पाएका फकिरले तत्कालै द्रुत सेवाको राहदानी लिएका थिए । नेपाली नागरिकता र राहदानी पाएका उनले बैदेशिक रोजगारीका लागि मलेसिया जाने क्रममा अध्यागमन कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन साताअघि नियन्त्रणमा लिएको खुल्न आएको छ । भारतीय नागरिकले नागरिकता र सोही आधारमा राहदानी जारी गरी वैदेशिक रोजगारीमा जाने तयारी गरेको जानकारी पाएपछि स्थानीय प्रशासनले अध्यागमनलाई पत्राचार गरेको थियो । सोही आधारमा अध्यागमनले उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

भारतीय नागरिकलाई झुटो विवरणमा सिफारिस गरी नागरिकता बनाउन सहयोग गरेका पुर्व वडाअध्यक्ष फते मोहम्मदलाई नियन्त्रणमा लिई नेपाल नागरिकता सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धानका लागि कपिलवस्तु अदालतबाट तीन दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । पक्राउ परेका पुर्व वडाअध्यक्ष फते मोहम्मदले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मायादेवी गाँउपालिका वडा नम्बर ४ को वडाअध्यक्षको निर्वाचन जितेका थिए । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी बाट वडा अध्यक्षका उम्मेदवार रहेका उनी निर्वाचनमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्