तिलोत्तमाको ‘सफल मेयर’ को जगमा रुपन्देही ५ मा बासुदेवले भारी मतान्तरले जिते सांसद


appharu

८ मंसिर २०७९, बिहीबार ०८:३५ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । नेपाली काँग्रेसका भरत कुमार शाहलाई चौथों पटक संसद प्रवेशमा ब्रेक लगाउने नेकपा एमालेका नेता बासुदेव घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । ‘तिलोत्तमा ब्राण्ड’ मा चुनावी मैदानमा होमिएका घिमिरेले २०४८ सालदेखिको शाहको संसदीय विरासतलाई तोड्न सफल मात्र भएका छैनन्, आफूलाई पहिलो पटक संसदीय राजनीतिमा प्रवेश समेत गरेका छन् ।
२०७४ मा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर तिलोत्तमालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाउन सफल घिमिरे पार्टीभित्रको रस्साकस्सीका बीच टिकट पाएपछि चुनावमी मैदानमा ‘तिलोत्तमा ब्राण्ड’ लाई लिएर छिरेका थिए । आफूलाई अब्बल जनप्रतिनिधिको रूपमा प्रमाणित गराएका कारण घिमिरेलाई मतदातामाझ परिचित हुन धेरै समय लागेन ।
संसदीय राजनीतिको लागि उनको दाबी क्षेत्र नं. ३ मा थियो, जहाँ एमालेले राप्रपालाई सीट छाडेपछि यो पटक उनले संसदीय राजनीतिलाई ‘सुदुर’ ठानेका थिए । तर, परिस्थिति यस्तो बन्यो की क्षेत्र नं. ५ मा ‘अप्रत्याशित’ टिकट लिएर पार्टीभित्रको सुरुवाती असन्तुष्टिका बीच घिमिरे जीतको ताज पहिरिन सफल भए । संयोग नैं मान्नुपर्छ—तिलोत्तमाको नगर प्रमुखको टिकट पाउँदा पनि उनले पार्टीमा ठूलै रस्साकस्सी गर्नुपरेको थियो । जुन, प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि दोहोरियो । र, दुवैमा उनी विजयको नतिजा निकाल्न पनि सफल रहे ।
तिलोत्तमा वडा नं. ४ स्थायी ठेगाना भएका बासुदेव घिमिरेको जन्म २०२५ असार २६ गते गुल्मीको बडागाऊँ (हाल मुसिकोट नगरपालिकामा भएको हो । बुबा स्व. छायादत्त र आमा भीमादेवीको सन्तानमा चार भाई तीन दिदीबहिनीमध्ये बासुदेव साइँला हुन् । उनको प्रारम्भिक शिक्षादिक्षा गुल्मीको मुसिकोट मैदानको पृथ्वी माविमा भएको थियो । घिमिरे परिवार बसाईरसाई गरेर २०४० सालमा रुपन्देहीको शंकरनगर ड्राइभरटोलमा झरेपछि उनले शान्ति माविबाट एसएलसी उत्तीर्ण गरी बुटवलको वाणिज्य क्याम्पसबाट स्नातक गरे । शान्ति घिमिरेसँग बैवाहिक लगनगाँठोमा बाधिएका बासुदेवका दुई छोरी र एक छोरा छन् । किसान परिवारबाट उदाएका घिमिरेको गोठमा अहिले पनि गाईहरु छन् ।
बासुदेवको राजनीति यात्रामा २०४४ सालबाट जोडिएका हुन् । तर, उनले २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरे । उनले पार्टीको गाउँ कमिटी सचिव भएर दुई कार्यकाल पूरा गरे । ईलाका सचिव हुँदै उनले क्षेत्रीय अध्यक्ष हुँदै रुपन्देही जिल्ला कमिटीमा तीन कार्यकाल सदस्य भएर काम गरे । हाल उनी पार्टीका प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्थानीय तह विभाग सदस्य हुन् । युवा संघ नेपालको गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै दुई कार्यकाल जिल्ला अध्यक्ष भएका घिमिरेले केन्द्रीय सदस्यको रुपमा समेत काम गरे ।
विभिन्न संघ–संस्थाहरुको कुशल व्यवस्थापन गरेको अनुभव समेत उनीसँग छ । दुई कार्यकाल तत्कालीन मिसन डेभलपमेन्ट बैंकको अध्यक्ष, विभिन्न कलेज तथा विद्यालयहरुको अध्यक्ष रहेका घिमिरेलाई सरकारी कार्यालय तथा विभिन्न आयोजनामा काम गरेको अनुभव समेत छ । घिमिरे श्रमप्रति उच्च सम्मान र विश्वास गर्छन् । घिमिरेले चीन, स्वीजरलेण्ड, फ्रान्स, जर्मन, कोरिया, नेदरलेण्ड, सिंगापुर, मलेसिया, थाइलेण्डलगायतका विभिन्न २० मुलुक भ्रमण गरेका छन् ।
पाँच वर्षमा घिमिरेको नेतृत्वमा तिलोत्तमामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भए । तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रुपमैं चर्चामा मात्र रहेनन्, अन्य पालिकाहरुको लागि सिकाई समेत बन्दै आएका छन् ।
एउटा असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि बन्दा परिवर्तन सम्भव छ भन्ने कुरालाई उनले प्रमाणित गरेका छन् । नमूना कामहरुको कारण स्थापनाको छोटो अवधिमैं पुराना नगरपालिकाहरुलाई पछि पार्दै तिलोत्तमा नगरपालिकाले २०७७ र २०७८ मा मुलुकमैं उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गर्न सफल भयो । २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेका थिए ।
घिमिरे कुरा भन्दा काममा विश्वास गर्छन् । उनी देखिने, जनताले परिवर्तनको अनुभूति गर्न सक्ने काम गर्छन् । सर्वसाधारणको कुरा सुन्ने, सुझाव लिने उनको विशेषता हो । आर्थिक र सामाजिक रुपमा पछाडि पारिएको वर्ग, समुदायको उत्थानलाई उनी प्राथमिकता दिन्छन् । अब बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर समग्र ५ नम्बर क्षेत्रको पर्यटन,कृषि, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा मतदाताले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने घिमिरेको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस्