रुपन्देही १ मा छविलाल, २ मा विष्णु पौडेल निर्वाचित


appharu

९ मंसिर २०७९, शुक्रबार २३:०९ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका ईन्चार्ज समेत रहेका विश्वकर्मा आफ्नै पुर्व सहकर्मी घनश्याम भुसाललाई हराउँदै विजयी भएका हुन् । विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी भए भने प्रतिद्वन्दी भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी त्रिभुज चुनाव चिन्ह लिएर स्वतन्त्र लडेका थिए । उनलाई सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा अगाडि बढाएको थियो ।
यस्तै रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी भए भने स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गरे । १३ सय ६६ मतको अन्तरले एमाले उपाध्यक्ष पौडेल विजयी भएका हुन् ।

त्यस्तै सत्ता गठबन्धनले समर्थन गरेका जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २२ हजार १० मत ल्याएका छन् । १ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही–२ मा कुल ८० हजार ६५१ मत खसेको थियो । जसमा २ हजार १९३ मत बदर भएको छ ।रुपन्देहीबाट पौडेल चौथोपटक सांसदमा चुनिएका हुन् । उनले यसअघि २०६४ सालमा काँग्रेसका सूर्यप्रसाद प्रधान, २०७० मा माओवादीका डा। बाबुराम भट्टराई र २०७४ सालमा काँग्रेसका युवराज गिरीलाई हराएका थिए भने २०५६ सालमा काँग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्